नाडा अटो शो अनिश्चितकालका लागि स्थगित



काठमाडौं । भदौ पहिलोसाता हुने भनिएको नाडा अटो शो स्थगित भएको छ ।

सरकारले भदौ १४ गतेसम्म दुई तथा चार पाँग्रे सवारी साधनको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएसँगै अटो शो स्थगित गर्ने निर्णय नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको. छ ।

सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी गरेको थियो । सरकारको उक्त प्रतिबन्धको समय थपिएसँगै अटो शो अनिश्चितका लागि स्थगित भएको हो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमीहुँदै गएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

नाडाको कार्यसमिति बैठकले शो स्थगित गर्ने निर्णय गरेको छ । अर्को शो गर्ने वा नगर्ने भन्ने निर्णय भदौ १४ पछि मात्रै थाहा हुने भएको बताइएको छ । कोरोना महामारीका कारण रोकिएको शो दुई वर्षपछि भदौ ७ देखि १२ गतेसम्म हुन लागेको थियो । अहिले भने रोकिएको छ ।


क्लिकमान्डु