विकासका काममा हामी एक मत छौँः ऊर्जामन्त्री भुसाल



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन् ।

ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।

‘विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ’ उनले भनिन् ‘निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।’

उनले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संम्बर्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।’ ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए । उनले पार्कलाई २४सैं घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने बताए ।


क्लिकमान्डु