रुस-युक्रेन युद्धले युरोपमा खडेरी, आधा क्षेत्र प्रभावित हुने यूरोपेली आयोगको चेतावनी



एजेन्सी । एकातिर नेटो र रसियाको प्रत्यक्ष तथा अप्रत्यक्ष लडाइ तथा रसिया-युक्रेनबीचको देखिने लडाइका कारण यूरोपमा अनेकन खालका समसया देखिएका छन् ।

रसियाले जर्मनीमा ग्यास आपूर्ति रोकेको छ । रसियाप्रति आक्रामक देखिएका अन्य ५ यूरोपेली देशलाई समेत ग्यास आपूर्तिमा रोक लगाएको छ ।

मर्मत सम्भारको नाम दिएपछि यूरोपमा रसियाले ग्यास आपूर्तिमा रोक लगाउँदा त्यसले अर्थतन्त्र सबैभन्दाबढी समस्यामा परेको छ ।अमेरिकाको पछि लागेर छिमेकीमाथि धावा बोल्दा त्यसको प्रभाव सामाजका हरेक क्षेत्रमा परेको छ । किनकी, यूरोप र रसिया एक अर्कामा अन्तरनिर्भर छन् ।

यो धरातलीय यथार्र्थलाई बिर्सेर केवल लडाइका लागि युक्रेनलाई उचाल्दा अहिले सबैभन्दा बढी मारमा यूरोप नै परेको छ ।

यूरोपले देखाएको यो रवैया पछिल्ला दिनमा उसैलाई घाडो हुन थालेको छ । हरेक जसो देशमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् । तर, त्यसको कुनै पनि पश्चिमा सञ्चार माध्यमले समाचार भने दिएका छैनन् ।

ग्यास तथा इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने भन्ने घोषणा पनि कार्यान्वयन नहुने एउटा हवाई कथा जस्तो बन्न पुगेको छ ।

बाहिर बाहिर रसियाको तेल नकिन्ने भनेर घुर्की लगाएको अमेरिकाले ओलीगार्कमार्फत् लगेको इन्धनको परिमाण समग्र यूरोपका लागि आपूर्ति हुने भन्दा बढी देखिएको छ ।

तर, अमेरिकी डरमा यूरोपेली देश रसियाप्रति आक्रामक बन्दा त्यसको घाटा सबैभन्दा बढी उनीहरुलाई नै भएको छ । विकल्प के त ? खासमा कुनै पनि विकल्प देखा परेको छैन ।

बरु, अर्थतन्त्र धरापमा पर्दै गएको छ । महंगीको मात्रामा वृद्धि भएको छ । कोरोनाले झण्डै ३ वर्ष जस्तो गाँजेको यूरोपमा महंगीको मार परेको छ । रोजगारीका क्षेत्रहरु क्रमशः घट्दै गएको छ ।

रसिया र युक्रेनबाट गहुँ आयात नहुँदा यूरोपको समग्र वियर उद्योग र बेकरी उद्योगमा परेको प्रभावले महंगी कुन हदसम्म बिस्तार भएको छ भन्ने देखाउँछ । मानिसहरुमा चरम असन्तुष्टि बढेर गएको छ ।

यसैबीचमा अर्को डरलाग्दो समाचार सार्वजनिक भएको छ । दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको छ ।

यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले विभिन्न कोणबाट गरेको विश्लेषणमा आधारित विवरण सोमबार सार्वजनिक गर्दै चेतावनी दिएका छन् ।

यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्र्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको छ ।

जलवायु परिवर्तनको जोखिमको विषय अन्यत्र उठाएर बस्दै आएको यूरोपेली देश नै त्यसको सबैभन्दा बढी चपेटामा परेको पाइएको छ ।

उक्त विवरणमा जनाइए अनुसार ईयूको ११ प्रतिशत भू-भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनु पर्ने अवस्था आइसकेको छ । त्यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बालीनालीमा प्रभाव परिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाव इटाली र यहाँको पनि सबैभन्दा बढी परेको छ । त्यसको पनि उत्तरमा रहेको ‘पो रिभर बेसिन’ले खडेरीको उच्चतम स्तरको सामना गरिरहेको रिपोर्टमा उल्लेख छ ।

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको छ । पानीको जलाशयको मात्रा अन्य बर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ । त्यस्तै, पोर्चुगलमा जलविद्युत ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ ।

यूरोपेली मौसमविज्ञले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए ।

ईयूको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ । शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो ।

रसियासँग निहुँ खोज्दा इन्धन आपूर्तिमा संकट, आफ्नै खास उत्पादन नभएको, एक अर्कामा अन्तरनिर्भर रहेको यूरोपमा खडेरीको मात्रामा समेत बृद्धि भएपछि त्यसले पार्ने प्रभाव असाध्यै जोखिमपूर्ण रहेको छ ।

समग्र यूरोपको भव्यता र त्यहाँको उत्कृष्ठ भनिएको जनजीवन अब कसरी र कुन रुपमा अगाडि बढ्ला भन्ने चिन्ता पनि उस्तै रुपमा जनाइएको छ ।

रुस र युक्रेनबीचको संघर्षलाई नयाँ आधारमा सम्झौताका माध्यमबाट अन्त्य गराउनुपर्ने माग जबरजस्त रुपमा उठेको छ । त्यसो भएमात्रै अर्थतन्त्रमा परेको प्रभावलाई क्रमशः न्यून गर्न सकिएला । अन्यथा, यूरोपको भव्यता अब क्रमशः बिग्रह, द्वन्द्व र झगडामा परिणत हुने सम्भावनालाई कोही कसैले पनि रोक्न सक्दैन ।


क्लिकमान्डु