आयल निगमलाई कर समायोजनको पैसा दिने मन्त्रीपरिषद्को निर्णय



काठमाडौं । सरकारले नेपाल आयल निगमलाई कर समायोजन गरिएको रकम भुक्तानी दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबाफत मुल्य समायोजन भएको रकम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय मार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

असार ११ गते सत्तारुढ दलले पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति गरेपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशनमा नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको थियो ।

निगमले पेट्रोलको मुल्य २० रुपैयाँ र डिजल र मट्टीतेलको २९ रुपैयाँले घटाइएको थियो । यस्तै, जेठ १९ गते पनि पूर्वाधार कर बाफतको पैसाबाट अर्थमन्त्रालयले सोधभर्ना गर्नेगरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको थियो ।

सरकारले पेट्रोलियम पदार्थमा कर समायोजन गर्नु भन्दा पनि कर बाफतको पैसा सोधभर्ना दिने नीति लिएको छ ।
नेपालमा भारत भन्दा पेट्रोलियम पदार्थको मुल्य महँगो भएपछि मुल्य समायोजन गर्नु पर्ने दबावमा सरकार परेको थियो ।
पछिल्लो मुल्य समायोजनपछि पनि सिमावर्ती भारतिय बजार भन्दा नेपालमा पेट्रोल ६।२३ रुपैयाँ र डिजल १८।५६ रुपैयाँ महँगो छ ।

रक्सौलमा पेट्रोलको मुल्य १७४.७७ र बीरगञ्जमा १८१ भएको नेपाल आयल निगमको बेवसाइटमा उल्लेख छ । यस्तै रक्सौलमा डिजलको मुल्य १५३.४४ रुपैयाँ हुँदा बीरगञ्जमा १७२ रुपैयाँ छ ।


क्लिकमान्डु