घाटा बेहोरिरहेको आयल निगमलाई सरकारले दिएन पौने ६ अर्ब भ्याट फिर्ता



काठमाडौं । महंगो मूल्यमा खरिद गरी सस्तो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमलाई सरकारले पौने ६ अर्ब रुपैयाँ भ्याट फिर्ता दिएको छैन ।

भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ दिन बाँकी दिन नसकी समस्यामा परेको निगमलाई सरकारले भ्याट फिर्तावापतको रकम समेत नदिँदा थप समस्यामा परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि भएसँगै आयल निगमले घाटा बेहोर्दै उपभोक्तालाई सस्तो मूल्यमा इन्धन बिक्री गरिरहेको छ ।

निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा प्रतिलिटर १३.९५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१.१४ रुपैयाँ घाटा बेहोरिरहेको छ । निगमका अनुसार हाल हरेक १५ दिनमा २ अर्ब ३५ करोड ४ लाख रुपैयाँ घाटा भइरहेको छ ।

निगम घाटामा भए पनि पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल्ने सरकारले भने निगमलाई ५ अर्ब ७३ करोड भ्याट दिएको छैन ।

निगमका अनुसार यो रकम जेठ मसान्तसम्मको मात्रै हो । असार महिनामा निगमले जेठको तुलनामा सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेकाले भ्याट फिर्ता गर्नुपर्ने रकम अझ बढ्ने देखिएको छ ।

निगमका अनुसार चालु आवको असार २४ गतेसम्म २ खर्ब ७० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयत गरिसकेको छ ।

हाल सरकारले निगमसँग पेट्रोलमा प्रतिलिटर २२.८९ रुपैयाँ भ्याट असुल्दै आएको छ । साथै डिजलमा प्रतिलिटर २२.०९ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा २१.२८ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर २०१.५४ रुपैयाँ भ्याट लिँदै आएको छ ।


क्लिकमान्डु