गभर्नरमाथि सांसद महतको व्यंगः हनुमानलाई बाँधेर राखौं नत्र नेपाल जलाउँछन्



काठमाडौं । सांसद गजेन्द्रबहादुर महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यंग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महतले गभर्नर अधिकारी नेकपा एमालेको सदस्य भएको भन्ने समाचार बाहिरिएपछि व्यंग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारीको नाम सार्वजनिक भएपछि सोही व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार प्रकाशित भएका थिए ।

महतले भने, ‘मलाई शंका लागेकै थियो । एक जना बार्दलीबाट देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए र एक जना ढुकुटीमा बसेर म पनि देशलाई श्रीलंका बनाइदिउँदै भन्दै थिए । यी दुई जनामा नाता पर्छ कि भन्ने लागेको थियो । नभन्दै यी त बा र छोरा रहेछन् । र, यी बार्दलीका हनुमान पनि जस्तो लाग्थ्यो ।’

उनले हनुमानलाई बाँधेर नराखे नेपाल जलाउन सक्ने बताए ।

‘द्वापार युगमा श्रीलंका जलाइएको थियो । श्रीलंका अहिले पनि जलिरहेको छ । नेपाल पनि जलाउँछन् जस्तो लागेको छ । जलाउन खोजिरहेका पनि छन् । सरकारलाई यिनलाई बाँधेर राख्न भन्नु पर्याे नत्र यिनले देश जलाउँछन्,’ उनले भने ।


क्लिकमान्डु