मन्त्री भुसाल र सिपिसीका विदेश विभाग प्रमुख लिउले शुरुगरे ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना



काठमाडौं । ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेका छन् ।

काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उक्त परियोजनाको शुरुआत गरिएको हो ।

कार्यक्रममा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताइन् । उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन् । ‘संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वनका लागि आर्थिक विकास अपरिहार्य छ’ उनले भनिन्, ‘त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।’

मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

शताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गरिन । ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ’ उनले भनिन् ‘यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।’

चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री भुलालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको उल्लेख गरिन् ।

चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन् ।

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल चीनको असल छिमेकी भएको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । ‘महान मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो’ उनले भने, ‘हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।’

बालबालिकाहरू देशको भविषय भएको बताउँदै लिउले बालबालिका नेपाल–चीन मितेरीको भविष्य भएको उल्लेख गरे । ‘बालबालिकाको खुशीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ’ उनले भने, ‘सम्बन्धलाई अझ बजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।’

उनले ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फन्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए ।

कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ स्कूलमा लागू भएको र ५ लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिए ।


क्लिकमान्डु