वाणिज्य बैंकले लिए ८९ खर्ब ८७ बढी एसएलएफ सुविधा



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको समयमा वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले गत चालु आर्थिक वर्षको साउनदेखि असार २४ गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ४ हजार ७९२ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंकहरुले सरकारी ऋणपत्र धितो राखेर यस्तो सुविधा लिन पाउने व्यवस्था रहेको छ ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् ।

राष्ट्र बैंकका अनुसार असार २४ गते २० वटा कारोबारबाट ३३ अर्ब ६७ करोड रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्था एसएलएफ सेवा लिन केन्द्रीय बैंकमा जाँदैनन् ।

ब्याजदर महंगो पर्ने भएका कारण पनि बैंकहरुले यस्तो सेवा कम लिन खोज्छन् । तर जब तरलता अभाव चुलिँदै जान्छ तब मात्रै बैंकहरु चर्को ब्याज तिरेरै भएपनि एसएलएफ सुविधा लिन्छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

अहिले तरलता अभाव हुनुको प्रमुख कारण निक्षेपभन्दा बढी कर्जा बिस्तार हुनुलाई लिइएको छ । कोरोना महामारी न्यून भएपछि चालु आवको शुुरुबाट नै बैंकहरुले आक्रमकरुपमा कर्जा प्रवाह गरेका थिए ।

अहिले बैंकमा निक्षेप समेत घट्दै जाँदा कर्जा प्रवाह निकै न्यून बन्दै गएको छ । बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताका लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् ।

अहिले बैंकको अन्तर बैंक ब्याजदर अहिले बैंकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशत पुगिसकेको छ ।


क्लिकमान्डु