पश्चेश्वर जलविद्युत परियोजना कार्यान्वयन गर्न राजदूत श्रीवास्तवलाई मन्त्री भुसालको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

त्यस अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन ।
उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा व्यक्त गरिन् ।

‘नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ’ उनले भनिन्, ‘त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’

उनले पश्चेश्वर जलविद्युत परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

भेटमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो एक वर्षमा विद्युत व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । ‘पछिल्लो एक वर्षमा विद्युत व्यापारमा ठूलो सफलता मिलेको छ’ उनले भने ‘यसमा दुवै सरकारको सहकार्य सर्हानीय छ ।’

आफूले विद्युत उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाए । ‘विद्युत व्यापार दुवै देशका लागि फाइदा जनक विषय हो’ उनले भने, ‘यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।’


क्लिकमान्डु