१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना बनाउन भारतको अडानी ग्रुपको चासो



काठमाडौं । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्य आयोजना निर्माणका लागि भारतको अडानी ग्रुपले चासो देखाएको छ ।

भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानीको अडानी ग्रुपले कर्णाली चिसापानी बहुउद्देश्य परियोजनामा लगानी गर्न चासो दिएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।

‘अत्यन्त प्रारम्भिक चरणमा भएपनि अडानी ग्रुपले लगानी गर्ने इच्छा जनाएको छ, यसका लागि प्रधानमन्त्री तहमा छलफल हुनुपर्छ,’ स्रोतले भन्यो ।

अडानी ग्रुपले हालैमात्र नवीकरणीय ऊर्जामा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अहिले ग्रुपले २० हजार मेगावाट विद्युत् नवीकरणीय ऊर्जामार्फत् उत्पादन गरिरहेको छ ।

अडानी ग्रुपले पछिल्लो समय नवीकरणीय ऊर्जामा लगानी गर्ने घोषणा गरेसँगै लगानीको प्राथमिकतामा नेपाललाई समेत राखेको हो ।
‘कर्णाली चिसापानीमा ग्रुपले नेपालका सरकारी अधिकारीसँग लगानीका लागि चासो देखाएको छ, प्रधानमन्त्री तहमा समेत यसको जानकारी छ,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

सरकारले कर्णाली चिसापानी परियोजनालाई भारतलाई लगानी गर्न अनुरोध गर्दै आएको थियो । तर,परियोजना अगाडि बढ्न भने सकेको थिएन ।

अडानी ग्रुपले नेपाल इन्फ्राच्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा)सँग मिलेर नेपालको अन्तरदेशीय प्रसारण लाइनमा समेत लगानी गर्न चासो दिएको थियो । केही चरणको छलफल प्रसारण लाइनमा समेत भएको थियो ।

‘जलविद्युत् आयोजनादेखि प्रसारण लाइनमा अडानी ग्रुपले लगानी गर्ने गरेर नै चासो दिएको छ, लगानी भित्राउन कसरी उच्च तहमा छलफल गर्न सक्छौ,हामीमा निर्भर हुन्छ,’ एक उच्च अधिकारीले भने ।

भारतमा नरेन्द्र मोदीको उदयपछि गुजरातका गौतम अडानी व्यवसायमा आक्रामक ढंगले अगाडि आएका हुन् । नरेन्द्र मोदीको उदय हुने बेलासम्म उनी गुजरातमा सिमित व्यवसायीमा थिए ।

तर, मोदी प्रधानमन्त्री बनेसँगै उनको सम्पत्ति हरेक वर्ष बढ्दै गएको छ । फोर्ब्सका अनुसार अडानी अहिले विश्वका पाँचौ धनी व्यक्ति हुन् जसको सम्पत्ति १ खर्ब २ अर्ब अमेरिकी डलर छ ।

५० वर्ष अगाडि चर्चामा आएको कर्णाली चिसापानी बहुउद्देश्य परियोजनाबाट १० हजार ८ सय मेगावाट विजुली उत्पादन हुने तथा भारत र नेपालमा सिँचाइ समेत गर्न सकिने छ ।

आयोजना निर्माण भएमा यो दक्षिण एशियाको ठूलो जलविद्युत् आयोजना हुने छ । विश्वमै ठूलो जलविद्युत् आयोजनामा समेत कर्णाली चिसापानी हुने छ ।

परियोजनाले नेपालको २ लाख भारतको ३८ लाख हेक्टरमा सिँचाइ सुविधा समेत उपलब्ध हुनेछ ।

आयोजनाको उद्देश्य जलविद्युत् उत्पादनसँगै भारतले पाउने सिँचाइ सुविधामा समेत जोडिएको छ । नेपालामा बाध बन्ने तथा भारतले पाउने सिँचाइ सुविधाको टुंगो लगाउने काम भने निकै जटिल हो । कागजमा ठूलो आयोजना भएपनि लगानी ल्याएर परियोजना निर्माणको काम भने निकै जटिल छ ।

बहुउद्देश्य परियोजना भएको हुँदा यसबाट जलविद्युत्, सिँचाइ, जलयातायातदेखि खानेपानीसम्मको परियोजना चलाउन सकिने छ ।
परियोजनाको अहिलेसम्म विस्तृत अध्ययन भएको छैन । सन् १९८९ मा गरिएको अध्ययनले परियोजनाले ५० हजार मानिसहरु विस्थापित हुने तथा ५ खर्ब लागत लाग्ने अनुमान गरिएको थियो ।

मूल्यमा भएको बृद्धि परियोजना क्षेत्रमा बसोबास बढेको हुँदा २ लाखभन्दा बढी मानिसहरु विस्थापित हुने अनुमान अहिले गरिएको छ ।

सरकारले कर्णाली चिसापानी आयोजना बनाउन २०३७ सालदेखि २०४१ सालसम्म भारतकोे रुड्की विश्वविद्यालयमा २५० जनालाई इन्जिनियरिङको अध्ययन समेत गराएको थियो ।

नेपालमा भारतीय लगानीमा बनेको जलविद्युत् आयोजनामा अरुण तेस्रो बाहेक अरु आयोजना राम्रोसँग अगाडि बढेको छैन ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतको निजी कम्पनी जीएमआरसँग भएपनि निर्माण सकिने बेलासम्म उसले परियोजना अगाडि बढाएको छैन । पश्चिम सेती जलविद्युत् आयोजनाको जिम्मा सरकारले भारत सरकारका लगानी भएको एनएचपीसीलाई दिने तयारी गरिएको छ ।


आशीष ज्ञवाली