पेट्रोलियम पदार्थको लागत घटाउन भारतसँग वार्ता गर्ने तयारी, आइओसीलाई ३० अर्ब दिन बाँकी



काठमाडौं । पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई अत्यधिक घाटा हुन थालेपछि सरकारी तहबाटै भारतसँग लागत घटाउने विषयमा छलफलको तयारी गरिएको छ ।

नेपाल आयाल निगमले भारतबाट आयात गरी बिक्री वितरण गर्दै आएको पेट्रोलियम पदार्थमा हरेक १५ दिनमा मूल्य सूची आउँदा बढेर आउने भएकाले सरकारी तहबाटै लागत घटाउन पहल भएको निगमको भनाइ छ ।

अहिले भारत सरकारले रसियाबाट सस्तोमा तेल खरिद गरिरहेको छ । त्यसैले, सरकारी स्तरबाटै नेपालमा पनि केही लागत घटाउनका लागि वार्ता गर्ने तयारी गरेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए ।

मन्त्रालयले पेट्रोलियम पदार्थको लागत घटाउनका लागि वार्ता गर्ने तयारी गरेको छ । उक्त वार्ता गर्नका लािग विभिन्न स्तरमा छलफल भइरहेको उनले जानकारी दिए ।

उनकाअनुसार अहिले रसियाबाट भारत सरकारले सस्तोमा खरिद गरिरहेको अवस्थामा नेपाललाई दिने पेट्रोलियम पदार्थको लागत घटाउन पहल गर्ने भएको हो ।

सरकारले अहिले बिटुबीमार्फत् तेल आयात गर्दै आएको छ । तर, सरकारकै पहलमा जीटुजीमार्फत् पहल गर्न सके निगमलाई केही सहज हुने उनको भनाइ छ ।

भारत सरकारले रसियाबाट अहिले आयात गर्नेमध्ये ४० प्रतिशत कच्चा तेल निजी प्रशोधन गर्ने उद्योगहरूले प्रयोग गरिरहेका छन् । जसले गर्दा कच्चा तेल आयात गरी उच्च रुपमा निर्यात गर्दै आएकाले सरकारले हालै मात्रै निर्यातमा कर बढाएको छ ।

उक्त कर बढाएपनि नेपाललाई भने कुनै असर नपर्ने निगमका कार्यवाहक प्रबन्ध निर्देशक नागेन्द्र शाह बताउँछन् । अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढ्दै गएको छ ।

त्यस्तै, इण्डियन आयल कर्पोरेशनले पनि १५ दिनको अन्तरमा अन्तर्राष्ट्रिय मूल्यदरअनुसार नेपालमा मूल्य पठाउने गर्दछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्छ । तर, अहिले अवस्थामा पेट्रोलियम पदार्थको मूल्य घटाउन निकै मुस्किल रहेको निगमको भनाइ छ ।

निगमले चालु आवमा मात्रै ५४ अर्ब घाटा व्यहोरिसकेको छ । त्यसमा, निगमले आइओसीलाई आगामी १५ दिनसम्मको हिसाब गर्दा ३० अर्ब रुपैयाँ रकम भुक्तानी गर्न बाँकी हुनेछ ।

आइओसीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्थामा सरकारले रकम नदिएपछि निगमको केन्द्रीय कार्यालय धितोमा राखेर ३ अर्ब ऋण लिने प्रक्रिया अगाडि बढाएको कार्कीको भनाइ छ ।

‘आइओसीमा ३० अर्ब रकम भुक्तानी गर्नुपर्ने छ । तर, सरकारले रकम नदिएपछि ३ अर्ब ऋणको लागि प्रक्रिया अगाडि बढाएको हो,’ उनले भने ।

सो रकम विरतण गरेपनि कही दिनका लागि मात्रै समस्या समाधान हुने उनले उल्लेख गरे । तर, आगामी दिनमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे अहिलेनै भन्न नसकेको उनले जिकिर गरे ।

नेपालले चालु आर्थिक वर्षको असार १५ सम्ममा २ खर्ब ८९ अर्ब ८ करोड रुपैयाँको ३० लाख ४० हजार १७८ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको छ । गत वर्ष नेपालले १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँको २८ लाख ५ हजार १३१ किलोलिटर मात्रै पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

नेपालले चालु आवको असार १५ गतेसम्ममा ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको ७ लाख ५ हजार ८३४ किलोलिटर पेट्रोल, १ खर्ब ५२ अर्ब ८७ करोड रुपैयाँको १६ लाख ५१ हजार २८८ किलोलिटर डिजेल, १ अर्ब २८ करोड रुपैयाँको १५ हजार ४८७ किलोलिटर केरोशिन, १३ अर्ब १० करोड रुपैयाँको १ लाख ५० हजार १७७ एटीएफ र ५९ अर्ब २८ करोड रुपैयाँको ५ लाख १७ हजार ३९२ मेट्रिक टन एलपीजी ग्यास आयात गरेको छ ।


क्लिकमान्डु