डलर अभावमा पनि अर्बपतिको ‘डेस्टिनेसन वेडिङ’ दुबई, बाली र टर्कीमा, राजस्व अनुसन्धानको सुक्ष्म निगरानी



काठमाडौं । गतवर्ष दुईवटा विवाह व्यवसायिक र कर्पोरेट क्षेत्रमा निकै चर्चामा रह्यो । व्यवसायी पवन गोल्यानका छोरा अक्षय र आयशा बस्नेतबीचको विवाह र शेखर गोल्छाका छोरा अभिमन्यू र श्रेया गिरीबीचको विवाह ।

दुई विवाह चर्चामा हुनुको कारण थियो परम्परागत मारवाडी परिवारका युवा सदस्यले गैर मारवाडीसँग गरेको विवाह । यसले मारवाडी परिवार खुला हुँदै गएको संकेत दिएको थियो ।

दुबै बिवाह नेपालमा नभएर युनाइटेड अरब इमिरेट (युएई)मा भएको थियो । विवाह नितान्त आन्तरिक विषय भएपनि ठूला व्यवसायिक घरानाले नेपालमा विवाह नगरेर युइईमा गएको विषय आलोचना भएको थियो ।

गोल्यान र गोल्छाको पथ पछ्याउँदै नेपालका स्थापित व्यवसायीले युएई, टर्की तथा इन्डोनेसियामा विवाह गर्ने क्रम बढेको छ ।

व्यवसायी श्याम खेतानले असार महिनामा इन्डोनेसियाको बालीमा छोराको विवाह गर्न लागेका छन् । श्याम खेतानको छोराको विवाहमा सहभागी हुन ३ सय जना पाहुना बाली पुग्दैछन् ।

यस्तै व्यवसायी शिवरतन शारडाको नातिनीको विवाह दुबईमा हुन लागेको छ भने अर्का व्यवसायी कुमुद दुगडको भतिजाको विवाह रिसेप्सन टर्कीमा हुन लागेको छ । विवाह भइसके पनि भव्य रिसेप्सनका लागि नेपालका चर्चित व्यवसायीको जमघट टर्कीमा हुन लागेको हो ।

अहिले नेपाली अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या विदेशी मुद्राको सञ्चिति घट्नु हो । विदेशी मुद्राको सञ्चिति घटेको बेला स्थापित ठूला व्यवसायीले विवाह तथा भोजको कार्यक्रम विदेशमा गर्दा विदेशी सञ्चितिमा चाप पर्छ ।

‘पैसा भएका व्यवसायीले विवाहको कार्यक्रम विदेशमा गर्नु एक किसिमको फेसन नै भइसक्यो, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको बेला ठूला व्यवसायी आफैंले सोच्नुपर्ने हो,’ उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने ।

उनले व्यवसायीले विदेशमा गर्ने विवाहको खर्चले डलर सञ्चिति जोगाउन ठूलो फरक नपर्ने भएपनि अहिलेको स्थितीमा सन्देश दिनु महत्वपूर्ण हुने बताए ।

‘विदेशमा गर्न लागेको विवाह देशभित्र गर्दा नै ठूलो रकमको विदेशी मुद्रा जोगिन्छ भन्ने होइन, मुख्य कुरा विदेशी मुद्राको सञ्चितिमा असर परेका बेला सन्देश दिनु ठूलो कुरा हो,’ उनले भने ।

यसरी विदेशमा हुने विवाहको कार्यक्रममा हुने भुक्तानीका लागि व्यवसायीहरुले अवैधानिक हुण्डीलाई प्रश्रय दिएका छन् ।

राष्ट्र बैंकले दिने विदेश घुम्न जाँदा दिने डलर सुविधाले विवाहका पुग्ने अवस्था रहन्न ।

पवन गोल्यानले आफ्ना छोराको विवाह युएईको अवुधावीको कसर अल सराब डिजर्ट रिसोर्टमा गरेका थिए । यो अवुधावीको महंगो रिसोर्टमा पर्छ । जुन रिसोर्टको एक रात बस्न कम्तीमा पनि १ लाख रुपैयाँ लाग्ने गर्छ ।

यस्तै शेखर गोल्छाले युएईको फुजराय रिसोर्टमा गरेका थिए । जुन रिसोर्टमा बस्न कम्तीमा ५० हजार लाग्छ । यसरी विदेशमा हुने विवाहमा सहभागी हुने निम्तालुले आउने जाने टिकटको खर्च आफैं गर्ने गर्छन् । विवाह स्थलमा हुने खर्च आयोजककै हुन्छ ।

गतवर्ष युइईमा दुवै विवाहमा सहभागी भएका एक व्यवसायीका अनुसार कम्तीमा एउटा विवाहमा १० करोड खर्च भएको बताउँछन् ।

‘न्यूनतम १० करोड घटीमा त्यो ठाउँमा विवाहको कार्यक्रम राख्न सम्भव छैन,
अब हुन लागेका विवाहमा पनि १० करोडभन्दा बढी खर्च हुने गर्छ,’ ती व्यवसायीले भने ।

असार महिनाभित्र दुबई तथा बालीमा नेपाली व्यवसायीले गर्न लागेको विवाहमा समेत १० करोडभन्दा बढी खर्च हुने अनुमान व्यवसायीबीच छ ।

असारभित्र देश बाहिर नेपाली व्यवसायीले गर्न लागेको विवाहमा समेत निम्तालुले आउने जाने जहाजको टिकट आफैं नै बेहोर्नेछन् भने बाँकी खर्च आयोजकको हुनेछ । ती देशहरुमा रिसोर्ट तथा त्यहाँ लागेको खर्चमा गर्ने भुक्तानी हुण्डीबाट नै हुनेछ ।

अहिले नेपालमा नाम चलेका ठूला व्यवसायीबीच चल्ने चर्चा नै अब हुने विवाह युएई, इन्डोनेसियामा महंगो रिसोर्टमा कसरी हुन्छ भन्नेमा छ ।

‘विगतमा मारवाडी व्यवसायीहरुको विवाह भारतमा हुने गरेको थियो, केहीको नेपालमा नै हुन्थ्यो, अब तेस्रो मुलुकमा गएर विवाह हुने क्रम आगामी दिनमा अझै बढ्छ,’ एक व्यवसायीले भने ।

उनले विवाह आन्तरिक विषय भएको र पैसा हुनेले खर्च गरेको विषयलाई धेरै चर्चा गर्न आवश्यक नभएको बताउँछन् ।

राजस्व अनुसन्धान विभागको सुक्ष्म निगरानी

राजस्व अनुसन्धान विभागले भने यसरी व्यवसायीहरुले विदेशमा गएर विवाह गरेको विषयमा सुक्ष्म निगरानी अगाडि बढाएको जनाएको छ ।

नेपाली व्यवसायीहरुले विवाहको स्थल विदेश रोज्न थालेपछि उनीहरुले गैर कानूनी रुपमा पैसा लगेर भुक्तानी गरेको विषयमा विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । विभागका महानिर्देशक झलकराम अधिकारी विदेशमा गएर विवाह गरेको विषयमा अनुसन्धान प्रक्रिया थालिएको बताउँछन् ।

‘विदेशमा विवाह गर्न गएर नेपाली व्यवसायीले विदेशी मुद्रा गैर कानूनी तरिकाले खर्च गरेको उजुरीहरु छन्, हामीले यसलाई सुक्ष्मरुपले अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।

अधिकारीले विदेशी मुद्राको सञ्चिति घटेका बेला यसरी गरिने फजुल खर्च नगर्न व्यवसायीलाई अनुरोध गर्दै भने, ‘डलर सञ्चिति घटेको बेला व्यवसायीहरु आफैंले बुझ्ने कुरा हो ।’

२१.१ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले घटेको छ । असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति थियो ।

वैशाख मसान्तमा आइपुग्दा २१.१ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्म ९ अर्ब २८ करोड अमेरिकी डलर विदेशी सञ्चिति छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गर्दा नेपाली अर्थतन्त्रमा डरलाग्दो समस्या देखिन लागेको छ । बैंकहरुमा तरलताको अभाव छ । खर्च प्रणालीमा सुधार नहुने भने आगामी दिनमा डलर सञ्चिति अझै घट्ने अनुमान गरिएको छ ।

सरकारले घट्दो विदेशी मुद्रा सञ्चितिलाई रोक्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने नीति लिएको हुँदा नेपाली मुद्रा आउने दिनमा थप कमजोर हुने अनुमान गरिएको छ । यसले आयातमा आधारित अर्थतन्त्रमा चल्ने नेपाललाई थप दबाब हुने देखिन्छ ।


आशीष ज्ञवाली