यसरी मिल्यो नविलमा एनबी बैंकका कर्मचारीको समायोजन, ५० जनाले रोजे स्वेच्छिक अवकास



काठमाडौं । मर्जरमा जाने आपसी सहमति गरेर नियामक नेपाल राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाइसकेपछि कर्मचारी समायोजनको विषयलाई लिएर लफडा भएको थियो । एनबी बैंक र नविल बैंकका कर्मचारीहरुले संस्थागतरुपमै एकअर्काको विरुद्ध खनिएका थिए ।

एनबी बैंकका कर्मचारीहरुले नविलमा आफूहरुको घटुवा हुने सहमति भएको भन्दै राष्ट्र बैंकमा उजुरी दिएका थिए । त्यसपछि यस विषयमा राष्ट्र बैंकले चासो व्यक्त गरेको थियो । गभर्नर महाप्रसाद अधिकारीले नै दुबै बैंकका मर्जर कमिटिका अधिकारीहरुलाई बोलाएर कर्मचारीको पद र सेवा सुविधा दुबै नघट्ने गरी कर्मचारी समायोजन गर्न निर्देशन दिएका थिए । राष्ट्र बैंकले आफूले भने बमोजिम कर्मचारी समायोजन नगरेसम्म अन्तिम स्वीकृति रोकेर राखेको थियो ।

कर्मचारी समायोजन मिलाएपछि बुधबारको सञ्चालक समितिको बैठकले नविल र एनबीलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । असार मसान्तभित्रै एकीकृत कारोबार हुने बताइएको छ ।

‘अफिसर र म्यानेजसमभ्दा माथिका पद समायोजन गर्दा एक तह घटुवा हुनसक्छ,’ स्रोतले भन्यो, ‘तर, अफिसर, म्यानेजर र सोभन्दा तलको पद नघटाई समायोजन गर्ने सहमति गरेका छौं ।’

नयाँ सहमति अनुसार एनबी बैंकका अफिसर, म्यानेजर, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट लगायतका कर्मचारीहरु नविल बैंकको सोही पदमा पदस्थापन हुनेछन् । तर, उनीहरु नविल बैंकको उक्त पदमा पदस्थापन भएपनि सेवा सुविधा भने एनबी बैंकमा बुझ्दै आएको बराबरमात्रै बुझ्नेछन् ।

‘एनबीमा खाइपाई आएको पद र सेवा सुविधा नविलमा पनि पाउँछन्,’ स्रोतले भन्यो ।

उदाहारणका लागि एनबी बैंकको अफिसरले ग्रसमा मासिक ५० हजार रुपैयाँको हाराहारीमा बुझ्दै आएका छन् भने नविल बैंकका अफिसरले ८० हजारमाथि बुझ्दै आएका छन् । अब समायोजनपछि पनि एनबीबाट नविलमा अफिसर भएर गएका कर्मचारीले नविलबाट ५० हजार नै बुझ्छन् भने नविलका अफिसरले ८० हजार माथि बुझ्छन् ।

‘केही वर्षभित्र पदसँगै सेवा सुविधाको पनि समायोज हुनेछ,’ स्रोतले भन्यो ।

नविलमा समायोजन भएर जाने अफिसर, म्यानेजर र सोभन्दा तलका एनबीका कर्मचारीलाई नविलकै पदअनुसार सेवा सुविधा दिने हो भने बैंकलाई थप २ अर्ब रुपैयाँको व्ययभार थपिन्छ ।

‘मर्जर भनेको इफिसियन्सी निकाल्नलाई गरिने हो, व्ययभार थप्न होइन,’ स्रोतले भन्यो, ‘फेरि एनबी र नविलका सबै कर्मचारीको गुणस्तर पनि बराबर छैन ।’

आगामी दुई वर्षभित्र सेवा सुविधाा पनि समायोजन गर्ने बैंक सञ्चालक समिति र उच्च व्यवस्थापनको छ । एनबी बैंकका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना भोलि (असार १७) गतेदेखि ४ वर्षका लागि नविल बैंकको सीइओमा नियुक्ति भइसकेका छन् । एनबी बैंकका कर्मचारीहरुलाई नविलमा समायोजन हुँदा कुनै पनि प्रकारको अन्याय हुन नदिने प्रतिवद्धता ढुंगानाले बारम्बार व्यक्त गर्दै आएका छन् । पछिललो विवाद मिलाउन पनि ढुंगाना निकै सक्रिय भएका थिए ।

मर्जरपछिको कर्मचारी समायोजनमा चित्त नबुझाउने एनबी बैंकका ५० जना कर्मचारीले स्वेच्छिक अवकासका लागि आवेदन दिएका छन् । एकीकृत कारोबार हुने अघिल्लो दिनसम्ममा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ । मर्जपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

निक्षेप २ खर्ब २१ अर्ब हुने छ । यस्तै कर्जा ३ खर्ब ७ अर्ब हुने छ । नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।


क्लिकमान्डु