प्रभु ग्रुपको गुडविललाई प्रगतिको आधार बनाउँदै प्रभु इन्स्योरेन्सलाई ‘टप टेन’मा पुर्याउने सन्तोषको योजना



काठमाडौं । नयाँ कम्पनी स्थापित हुँदै गर्दा काम गर्ने ‘स्पेस’ धेरै हुन्छ । नयाँ उत्साह, जोशजाँगरले भरिपूर्ण कम्पनीमा अलिकित बल लगाउँदा पनि प्रगतिको लय रफ्तारमा बढ्न थाल्छ ।

सक्षम नेतृत्व हुने हो भने केही वर्षमा प्रतिस्पर्धी कम्पनी बन्न सक्छ । यही अवसर प्राप्त गरेका छन् सन्तोष प्रसाईंंले । ७ वर्ष नियामक निकाय र ४ वर्ष मुलुककै अग्रस्थानमा रहेको बीमा कम्पनीमा काम गरेका प्रसाईं एक महिनाअघि मात्रै प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव लिएपछि प्रभु लाइफलाई हाक्न पाउँदा चार्टर्ड अकाउन्टेन्ट सन्तोष निकै उत्साहित छन् ।

‘नयाँ कम्पनी छ, काम गर्ने अवसर धेरै छ,’ प्रसाईंले भने, ‘हामी केही योजनाहरु बनाइरहेका छौं ।’

जीवन बीमा कम्पनीमध्ये झन्डै पुछारमा रहेको प्रभु लाइफलाई उकालो बाटो हिँडाउने अवसर र चुनौति दुबै देखेका छन् सन्तोषले ।

मुलुककै प्रतिस्पर्धी जीवन बीमा कम्पनी बनाउन प्रभु लाइफको गुडविल र सन्तोषको खारिएको अनुभवको ‘ट्युनिङ’ मिलेमा कम्पनीलाई प्रगतिको लय समात्ने ठूलो अवसर हुनसक्छ ।

‘प्रभु’ नाम आफैंमा एक ब्रान्ड हो । प्रभु एक ठूलो ग्रुप हो जसअन्तर्गत बैंक, मर्चेन्ट बैंकिङ, जीवन र निर्जीवन इन्स्योरेनस, रेमिट्यान्स, हेलिकोप्टरलगायतका क्षेत्रमा व्यवसाय गरिरहेको छ ।

अब प्रभु लाइफ इन्स्योरेन्सको काम भनेको यही गुडविललाई सकेसम्म बढी ग्राहकमाझ पुर्याउनु हो । अहिलेसम्मको कमजोरी पनि ‘प्रभु’ नामलाई जनतामाझ पुर्याउन नसक्नु प्रसाईंको बुझाइ छ ।

‘प्रभु ग्रुप अन्तर्गत भएका चिज राम्रा छन् । ती राम्रा चिजलाई हामीले मान्छेसम्म पुर्याउने हो,’ प्रसाईंले भने, ‘यसलाई अझ बढी प्रतिफल निकाल्नु पर्ने छ ।’

प्रभु ग्रुप अन्तर्गत प्रभु लाइफ इन्स्योरेन्स एक पार्ट हो भनेर बुझाउन सकेमा धेरै सफलता मिल्ने उनको भनाइ छ ।

अर्कोतिर, सीए सीइओ प्रसाईंसँग पनि नियामक निकायकारुपमा रहेको बीमा समितिमा सात वर्ष र नेपालको बीमा कम्पनीमध्ये अग्रस्थानमा रहेको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्समा ४ वर्ष काम गरेको अनुभव छ ।

यो अनुभवलाई प्रभु लाइफ इन्स्योरेन्सले भरपुर सदुपयोग गर्न सक्छ । प्रसाईं चार्टर्ड अकाउन्टेन्ट (सीए) पनि हुन् ।

झापा घर भएका प्रसाईं भारतको चेन्नाइबाट सीए गरेर फर्केपछि केही समय अडिट फर्ममा काम गरे । अडिट गर्नु आफ्नो ‘कप अफ टी’ हो जस्तो लागिरहेको थिएन उनलाई ।

त्यहीबेला बीमा समितिमा चार्टर्ड एकाउन्टेन्टको भ्याकेन्सी आयो । प्रसाईंले जागिरका लागि आवेदन हाले । नाम पनि निस्कियो ।

बीमा समिति नियामक निकाय हो । उनको लागि बीमा समितिमा काम गर्नु नौलो र नयाँ अनुभव गर्ने मौका मिल्यो । बीमा समितिमा ७ वर्ष काम गरे ।

‘नियामक निकायमा काम गर्दा धेरै कुरा सिक्ने मौका पाएँ,’ प्रसाईं भन्छन्, ‘यो बीमा उद्योगको क्षेत्रभन्दा फरक अनुभव थियो ।’

नियामक निकायको काम बजार अध्ययन गर्ने, नीति नियम बनाउने, दिर्नेशन दिने र कार्यान्वयन गर्ने प्राथमिक काम हुन् ।

नियामक निकायमा ७ वर्षको अनुभवपछि उनी नेपालकै अग्रहणी बीमा कम्पनी नेपाल लाइफ इन्स्यारेन्समा डीजीएमका रुपमा आए ।

जहाँबाट बीमा उद्योगको बारेमा व्यवसायीक अनुभव गर्न पाए । कम्पनीमा काम गर्नु भनेको नियामक निकायको नीतिलाई प्राक्टिकलरुपमा लागू गर्नु हो । कम्पनीले लक्ष्य निर्धारण गरेको हुन्छ । र, त्यो लक्ष्य प्राप्तिको लागि पोलिसी बिक्री र प्रिमियम कलेक्सनको काम गर्नुपर्छ ।

‘म भाग्यमानी छु कि मैले नियामक निकायमा पनि काम गरेँ र कम्पनीमा पनि छु,’ प्रसाँइले भने, ‘मैले नियामक निकाय र कम्पनी दुबैको अनुभव लिन पाएका छु ।’

उनले नेपाल फाइफ इन्स्योरेन्समा ४ वर्ष काम गर्दा पछिल्लो समय प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा नियुक्त भएका थिए । सीईओको रुपमा काम गर्न थालेको ८ महिना हुँदाहुँदै नेपाल लाइफ इन्स्यारेन्सबाट विदा भए ।

केही महिनाको ‘कुलिङ प्रियड’ पछि जेठ ११ गते प्रभु ग्रुपअन्र्तगत रहेको प्रभु लाइफ इन्स्योरेन्समा सीइओको रुपमा नियुक्त भएका छन् ।

उनी प्रभु लाइफ इन्स्योरेनसमा आउँदा १९ वटा कम्पनीमध्ये प्रभु लाइफ १८औं स्थानमा थियो । एक महिनाको अवधिमा १६ स्थानमा उक्लिएको उनी बताउँछन् ।

उनी आउनुभन्दा अघि संचालक समितिले यस वर्षको लक्ष्य निर्धारण गरेको थियो । यही लक्ष्यलाई भेट्याउने प्रयासमा छन् उनी ।

कम्पनीले यस वर्ष वार्षिक प्रिमियर कलेक्सन लक्ष्य १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरेको थियो । ‘त्यो लक्ष्यमा लगभग पुग्ने अवस्थामा छौं,’ प्रसाईं भन्छन्, ‘अहिलेसम्म १ अर्ब कलेक्सन भइसकेको छ ।’

प्रतिकुल अवस्था हुँदा पनि कम्पनीले यस वर्ष राम्रो प्रगति गरिरहेको छ । यो वर्ष समग्र बीमा उद्योग १८ प्रतिशतले नकारात्मक अवस्थामा भएको बेला प्रभु लाइफ इन्स्योरेन्स भने गत वर्षको तुलनामा ३४ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

मुख्यगरी ९ वटा प्रोडक्टमा काम गरिरहेको प्रभु लाइफका मुलुकभर १०० शाखा छन् । नयाँ थप्नेभन्दा पनि यी शाखालाई बलियो बनाउने योजना उनको छ । अब १० देखि १५ वटामात्र शाखा थपेर यिनीहरुलाई सक्षम बनाउने, एजेन्सी निर्माण गर्ने उनको योजना छ । कम्पनीमा अहिले ३ सय कर्मचारी कार्यरत छन् ।

सीइओमा नियुक्त भएपछि कम्पनीको बारेमा थप अध्ययन गरिरहेका छन् । प्रभु लाइफ नाम चिनिएको भए पनि राम्रो मार्केटिङको अभावले सोचेजस्तो प्रगति गर्न सकेको छैन ।

अहिले मार्केटिङलाई फोकस गरेर काम अगाडि बढाएका छन् । महिना दिनमा त्यसको राम्रो संकेत पनि आइरहेका छन् ।

‘मार्केटिङ गर्नलाई हाम्रो एजेन्सी निर्माण बलियो हुन सकेको थिएन,’ प्रसाईं भन्छन्, ‘बीमा कम्पनी एजेन्सीमा आधारित रहेर चल्ने भएकाले एजेन्ट मार्केटिङका प्रमुख खम्बा हुन् ।’

उनी अहिले एजेन्सी निर्माणमा लागिरहेका छन् । उनीहरुलाई आवश्यक तालिमको व्यवस्थापन गरिरहेका छन् ।

अहिले एजेन्सीलाई बलियो बनाएर अर्को वर्ष ब्रान्डिङमा फोकस गर्ने उनको योजना छ ।

अहिलेकै अवस्थाबाट अगाडि बढ्दा आफ्नो सीइओको ४ वर्षको कार्याकालयमा मुलुकका टप १० बीमा कम्पनीमा पुर्याउन सक्छु भन्ने उनको विश्वास छ ।

सन्तोषले कम्पनीलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहँदा बीमा उद्योगमा भने मर्जरका समाचार धमाधम आइरहेका छन् ।

नियामक निकायले एक वर्षमा पुँजी बढाएर ५ अर्ब पुर्याउन वा पार्टनर खोज्न निर्देशन दिएको छ । अहिलेसम्म बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएपुथ्यो ।

‘अहिलेको अवस्थामा ३ अर्ब रुपैयाँ हालेर ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने अवस्था धेरै कम छ,’ प्रसाईं भन्छन्, ‘हामीसँग अर्को अप्सन छैन । अरु कम्पनी मर्जरमा जाँदा हामी पनि जानुपर्छ ।’

नियामक निकायले पुँजी बढाउन थप समय दिएमा अहिलेकै अवस्थाबाट अगाडि बढ्ने र यदि समय नदिएमा पार्टर खोज्ने नीति लिएको प्रसाईंले बताए । केही कम्पनीसँग कुरा पनि भइरहेको उनले बताए ।

ठूला बीमा कम्पनीहरु मर्जरमा जाँदा अन्य सानालाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ । यसले पनि मर्जर अनिवार्य जस्तो भएको उनको भनाइ छ । यसले गर्दा बीमा कम्पनीले पुँजी थप्नेभन्दा पनि मर्जरमा गएर पुँजी पुर्याउने नीति अलम्बन गरेका छन् ।

नेपालमा बीमा कम्पनीको संख्या धेरै भएपछि बीमा समितिले मर्जरको नीति अगाडि बढाउन पनि यो बाटो निकालेको देखिन्छ । पछिल्ला केही दिनमै ५ कम्पनीहरुले मर्जरमा जाने निर्णय गरिसकेका छन् ।

मर्जरको नीतिलाई सकारात्मकरुपमा हेरेका छन् प्रसाईंले । दुई तीनवटा क्रम होल्डिङ भएका कम्पनीहरुलाई बीमा समितिले मर्जरमा जाने भनिरहेको छ । एउटै मान्छेले तीन चारवटा कम्पनी खोलेका छन् । त्यसै पनि कुनै पनि जीवन बीमा कम्पनीलाई सस्टेन भएर काम गर्न चारदेखि पाँच वर्ष लाग्छ ।

‘एउटैको धेरै हुनुभन्दा एउटा कम्पनी हुनु राम्रो हो,’ प्रसाईं भन्छन्, ‘मर्ज भएर एउटा कम्पनी दह्रो भएको आफैंमा राम्रो हो । लगत खर्च पनि घट्छ । नयाँ सिनर्जी पनि आउँछ ।’

भारतमा पनि धेरै बीमा कम्पनी मर्जरमा गएर एउटा कम्पनी बनेका छन् । जस्तो कि एलआइसी बीमा कम्पनी २५६ वटा कम्पनी मर्ज भएर बनेको कम्पनी हो ।

मुलुकमा बीमा कम्पनीहरु मर्जरमा गइरहेको बेला बीमा पहुँच भने ३४ प्रतिशतमात्र पुगेको छ । अझै पनि बीमा गर्नुपर्छ भन्ने कमैलाई थाहा छ ।

मुलुकमा बीमा उद्योगमा अझै ठूलो स्कोप देखेका छन् प्रसाईंले । नेपालको ग्रामीण क्षेत्र र सहरका सबै जनतामाझ बीमा पुग्न सकेका छैनन् । बीमा नपुगेको ठाउँमा जाने प्रयास गर्नुपर्ने उनको धारणा छ ।

अर्को कुुरा एउटा व्यक्तिले एक बीमा गरेपछि अर्को गर्दैन भन्ने हुँदैन । एकै व्यक्तिले दुई तीनवटा बीमा पनि गर्न सक्ने वातावरण बनाउनु पर्ने सन्तोष बताउँछन् ।

मुलुकमा कोरोना महामारीको अवस्था पछि तरलताको चर्को अभाव छ । यसले मुलुकका सबै क्षेत्रमा प्रभाव पारिरहेको छ । बीमामा पनि नपर्ने कुरै भएन । अहिलेको समय गाह्रो बन्दै गएको प्रसाईं बताउँछन् ।

‘बैकिङ क्षेत्रमा प्रभाव पर्दा बीमामा पनि प्रत्यक्ष प्रभाव पर्न थाल्छ,’ प्रसाईंले भने, ‘आशा गरौं यस्तो खराब समय धेरै रहने छैन ।’


सन्तोष न्यौपाने