मर्स्याङदी-काठमाडौं प्रसारण लाइन निर्माण सम्पन्न, बिहीबारबाट सञ्चालन



काठमाडौं । मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए ।

‘हाल चालू रहेको मर्स्याङदी-स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत प्रवाह हुन सक्दैन थियो’ कार्यकारी निर्देशक घिसिङले भने, ‘मर्स्याङदी-काठमाडौलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ ।’

भरतपुर–हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकोले त्यहाँ पनि विद्युत प्रवाहका लागि समस्या उनको भनाइ छ । ‘कुलेखानी नचलेको बेला मर्स्याङदी-काठमाडौं प्रसारण लाइनमार्फत विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत प्रवाह गराउन सकिन्छ’ उनले भने ‘यो लाइन काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन हो ।’

मर्स्याङदी-काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लि.सँग २०७३ असार १६ गते १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजना निर्माण २०७३ भदौबाट सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन,धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए ।

प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो । सबैभन्दा बढी समय धादिङको सिद्धलेक गाउँपालिका-७ स्थिति पिपलटारमा स्थानीयको अवरोध हुँदा निर्माण प्रभावित भएको आयोजना प्रमुख लक्ष्मण फुँयालले बताए ।

आयोजना अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०-१३२-३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसनहरु निर्माणाधीन छन् । सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने छ । नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो ।


क्लिकमान्डु