मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द



C

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको छ ।

उक्त विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको हो ।

पहिरोले मध्य मर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिएको छ । यसबाट उक्त प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द भएको छ । करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ ।

आइतबार मध्य मर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । शुक्रबार करिब साढे २ सय मेगावाट विद्युत निर्यात हुने छ ।


क्लिकमान्डु