वित्तीय क्षेत्रको नेतृत्वमा चार्टर्ड एकाउन्टेन्टको बाक्लो उपस्थिति, ब्यालेन्ससिट व्यवस्थापनले सञ्चालकको रोजाइमा



काठमाडौं । कुमारी बैंकले हालैमात्र चार्टर्ड एकाउन्टेन्ट (सीए) रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त गर्र्यो । खनाल बैंकिङ करिअरमा छिटो सीइओ हुने भाग्यमानी व्यक्तिमा पर्छन् ।

त्यसो त, एनआइसी एशिया बैंकमा रोशन न्यौपाने सीइओकारुपमा एक कार्यकाल बिताइसकेका छन् । कलिलै उमेरमा सीइओ बनेका न्यौपानेले बैंकलाई धेरै सूचकमा पहिलो नम्बरमा पुर्याएका छन् । अझ भनौं न्यौपानेको आक्रामक बजार विस्तार र रिटेल बैंकिङको रणनीति अहिले अरु बैंकरले पनि पछ्याइरहेका छन् । यस अर्थमा उनलाई ट्रेन्ड सेटरका रुपमा समेत हेरिन्छ ।

नियामक निकाय राष्ट्र बैंकका गभर्नर रहेका महाप्रसाद अधिकारी नै चार्टर्ड एकाउन्टेन्ट हुन् । अधिकारी गभर्नर हुने पहिलो सीए हुन् । उनी राष्ट्र बैंकका क्याडर हुन् । राष्ट्र बैंकमा डेपुटी गभर्नर हुने सीए भने हिरण्यलाल ब्रजाचार्य हुन् । उनको थाइ एयरवेज दुर्घटनामा निधन भएको थियो ।

सीए पास गरेर आफ्नो फर्म चलाउनेहरुको रोजाइ बैंकिङमा भएपछि बैंकमा सीइओ उच्चव्यवस्थापन तहमा सीएहरुको संख्या बढ्दै गएको छ ।

तर, कारण भने यतिमात्रै होइन । सीएहरु अंकमा खेल्न सक्छन्, जसले ब्यालेन्सिट व्यवस्थापनमा ठूलो महत्व राख्छ । साथै, सीएहरुमा अध्ययन गर्दादेखि नै निकै कडा मिहेनत गर्ने र दवाव झेल्नसक्ने गुणको विकास भएको हुन्छ । र, कानूनले दिएका सुविधाहरु सीएहरुले सहजै पत्ता लगाउँछन् । र, त्यसअनुसार नै अंकहरुको व्यवस्थापन गर्न सक्षम हुन्छन् । यस्तै यस्तै कारणले व्यवस्थापकीय नेतृत्वमा सीएहरु सञ्चालकको रोजाइमा परेका हुन् ।

पहिला पहिला व्यवस्थापनको नेतृत्वमा प्रशासक हुन्थे । पछि त्यो ट्रेन्ड परिवर्तन भएर मार्केटिंग पृष्ठभूमिका व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिन थालियो । पछिल्ला वर्षहरुमा त्यो ट्रेन्ड पनि परिवर्तन भइरहेको छ । र, सीएलाई व्यवस्थापनको जिम्मेवारी दिन थालिएको छ । जसले गर्दा वित्तीय क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा सीएहरुको उपस्थिति निकै बाक्लो हुँदै गएको छ ।

अहिले ग्लोबल आइएमई बैंकमा सीइओ रहेका रत्नराज ब्रजाचार्य सीए हुन् । ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ महेश ढकाल पनि सीए हुन् ।

त्यस्तै, एनबी बैंकको कामू सीइओ भुपेन्द्र पाण्डेपनि सीए हुन् । यसबाहेक केही समयपछि नबिल बैंकमा सीइओ हुन लागेका ज्ञानेन्द्र ढुंगानासमेत सीए नै हुन् । एनबीलाई गाभेपछि सीइओसहित नबिलमा उच्च व्यवस्थापन तहमा ३ जना सीए हुनेछन् । नविलमा अहिले महाप्रवन्धकका रुपमा सीए मनोज ज्ञवाली कार्यरत छन् ।

एनआइसी एशियाको उच्चव्यवस्थापनमा सीइओ न्यापानेसहित ५ जना सीए छन् । एनआइसी एशियामा ७० जनाभन्दा सीएहरु कार्यरत छन् । जुन अरु कुनै पनि बैंकमा छैनन् ।

विकास बैंकमा सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ र कामना सेवा विकास बैंकका सीइओ प्रविण बस्नेत सीए हुन् ।

जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सलाई सफल बनाएका विवेक झा सीए हुन् । उनी अहिले सुर्या लाइफको सञ्चालक समिति सदस्य छन् ।

अहिले सुर्या लाइफका सीइओ पवन खड्का तथा प्रभु लाइफका सीइओ सन्तोष प्रसाईं पनि सीए हुन् ।

बैंकको सञ्ञालक समितिमा नेपाल इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी सीए हुन् । दुवैजना राष्ट्र बैंकका क्याडर हुन् भने दुवैले अहिले अध्यक्ष रहेको बैंकमा सीइओको भूमिका सफलरुपमा बिताएका छन् ।

सीए समेत रहेका सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी सीए वित्तीय व्यवस्थापनमा अब्बल हुने बैंकिङको उच्च व्यवस्थापन तहमा बोर्डको रोजाइमा पर्न थालेको बताउँछन् ।

‘वित्तीय व्यवस्थापनमा अरु कमजोर छन् भनेर भन्न खोजेको होइन, सीएको ज्ञान नै त्यसमा भएको हुँदा प्रस्तुती केही फरक हुन्छ,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।

बैंक तथा वित्तीय संस्थामा कुनैबेला फाइनान्स डिपार्टमेन्टमा मात्र सीएलाई भूमिका दिने चलन थियो । अहिले सिएहरुको भूमिका फाइनान्स डिपार्टमेन्टबाट कर्पोरेट, ब्राण्डिङ हुँदै उच्च व्यवस्थापन तहमा पुगेका छन् । कुनैबेला सीए पढ्नका लागि भारत जानुपर्ने बाध्यता थियो । अहिले बैंकमा सीइओ भएका तथा उच्च व्यवस्थापन तहमा रहेकाहरु भारतबाट सीए पढेर आएकाहरु हुन् । डेपुटी सीइओहरु बैंकहरुममा सिएहरु बढ्न थालेका छन् । राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, सिभिल बैंकका सचिनजंग रायमाझी सिए हुन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका डिजिएम रविन सिँजापति, प्राइम बैंकका सन्जिव मानन्धकर सीए हुन् ।

त्यसैगरी, १० जिल्ले रहँदा सांग्रिला विकास बैंकको सीइओ रहेका दिनेश थकाली मर्जरपछि सांग्रिलाको डेपुटी सीइओ भएर काम गरे । पछि उनी प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृत भएर काम गरे । थकाली अहिले प्रभु क्यापिटलको प्रवन्ध निर्देशकका रुपमा कार्यरत छन् । उनी पनि सीए हुन् ।

त्यस्तै, एनआइबिएल क्यापिटलका डेपुटी सीइओ मेकबहादुर थापा पनि सीए हुन् ।

पूर्वबैंकर अनलराज भट्टराई पनि सीए हुन् । उनी तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंकको सीइओ थिए ।

राष्ट्र बैंकको नियमन विभागको प्रमुख भएर अवकास पाएका शिवनाथ पाण्डे सीए हुन् । राष्ट्र बैंकबाट अवकास पाएपछि सुर्या लाइफमा सीइओको रुपमा केही समय काम गरेका पाण्डे वित्तीय प्रणालीको नेतृत्वमा सीएहरु पुग्नुमा तथ्यांकको प्रस्तुती गर्न सक्ने र दवावमा काम गर्न सक्ने क्षमतालाई प्रमुख कारण मान्छन् ।

‘सीए पास गर्न केही कठिन छ, स्ट्रेस लिएर काम गर्न सक्ने क्षमता सिएसँग बढी हुन्छ,’ पाण्डेले क्लिकमाण्डूसँग भने । पाण्डे सीएहरु वित्तीय क्षेत्रमा नेतृत्वमा बढी भए भन्नु भने गलत हुने बताउँछन् ।

लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)मा दर्ता भएका सीएको संख्या १८०० भन्दा बढी छ । सीए पास भएर दर्ता हुनुपर्नेहरुको संख्या ५ सयजति हाराहारीमा छ । नेपालमा रहेका सिएहरुमा ५ सयजति आइक्यानबाट पास भएका हुन् भने अरु भारतबाट पास भएका हुन् । नेपालमा आएर विभिन्न क्षेत्रमा जागिर खाएका ५ सयजति सीए भने विदेश पलायनको भएको अनुमान छ । यसरी नेपालमा अहिले सक्रियरुपमा सिएको संख्या २५ सयको हाराहारीमा रहेको अनुमान सिएहरुको छ ।

आउने दिनमा वित्तीय प्रणालीको नेतृत्व तहमा सिएको संख्या अझै बढ्न सक्ने अनुमान कुमारी बैंकका सीइओ रामचन्द्र खनाल गर्छन् ।
‘एक दशकअघि सीए पास गर्नेसँग आफ्नो फर्म खोलेर काम गर्ने अप्सन बलियो थियो, अहिले संख्या बढी भएपछि जागिर खानेको संख्या बढ्दो क्रममा छ,’ खनालले क्लिकमाण्डूसँग भने ।

बैंकिङ प्रणालीमा जागिर खाने सीएहरुको संख्या बढ्दा नै आउने दिनमा त्यही व्यक्तिहरु नेतृत्व तहमा पुग्नेहुन् । जसले गर्दा आउने दिनमा नेतृत्वमा पुग्नेको संख्या बढ्ने देखिन्छ । अहिले आइक्यानबाट वार्षिकरुपमा ५० जनाजति सीए पास हुने गरेका छन् । भारतबाट पास भएर आउनेको संख्या पनि त्यही हाराहारीमा रहने गरेको छ । जुन एक दशकअघि वर्षमा १० जनाभन्दा बढी सीएहरु पास हुँदैनथ्थे ।

नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवाली रणनीति बनाउने विषयमा सिएहरुको काम अरुको भन्दा फरक हुने हुँदा वित्तीय क्षेत्रमा नेतृत्वदायी भूमिकामा संख्या बढेको बताउँछन् ।

‘नेतृत्व लिएका संस्थामा सिएहरुले आफूलाई अब्बलसमेत सावित गरेका छन्, सीएले नेतृत्व लिएका संस्थाहरु सफल बनेको हुँदा अरु संस्थाको रोजाइमा सीए पर्ने थालेका हुन्,’ ज्ञवालीले भने ।

आलोचकहरु भने सीएहरुले तथ्यांकलाई जसरी प्रस्तुत गर्दा आफूअनुकुल हुन्छ, त्यो गर्नसक्ने खुबीको कारण वित्तीय प्रणालीमा सीएहरुको नेतृत्व तहमा आउन थालेको बताउँछन् ।

‘सीएहरुले सानोभन्दा सानो कुरामा खेल्न सक्ने विशेषता हुन्छ,जसले गर्दा प्रोभिजन कुन क्षेत्रमा कसरी कम गर्ने, तथ्यांकलाई घुमाउन सक्ने विशेषता सीएको हुन्छ,’ एक बैंकरले भने ।

बैंक लगानीकर्तालाई नाफा चाहिएको र त्यसलाई घुमाउन सक्ने विशेषताले सिएहरु रोजाइमा परेको उनी बताउँछन् । उनी त्यसको लागि सिएको संख्या बढीका बैंकहरुको नाम लिएर उदाहरण प्रस्तुत गर्दै भने, ‘सिए बढी भएक बैंकहरुले लुपहोलमा कसरी खेल्छन् त्यो हेर्दा नै थाह हुन्छ ।’

सीएहरुमाथि तथ्यांक तोडमोड गर्ने गरेको आरोप नयाँ भने होइन । युवराज खतिवडा अर्थमन्त्री भएको बेला आइक्यानको कार्यक्रममा नै गए सीएहरुलाई वास्तविक ब्यालेन्ससिट प्रस्तुत गर्न नसकेको भन्दै आलोचना गरेका थिए । सीएहरु भने ब्यालेन्ससिटमा खेल्न सक्ने खुबीले मात्र नेतृत्वको अवसर आएको मान्न तयार छैनन् । यद्यपी सीएलाई ब्यालेन्ससिटमा झुक्काउन भने नसक्ने सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी बताउँछन् ।

सीएहरुले ब्यालेन्ससिट व्यवस्थापन गर्न सक्ने कारणले मात्रै नेतृत्वमा आएको भन्ने भनाइ पूर्णरुपमा गलत भएको बताउँछन् ।

‘म्यानुपुलेसन र म्यानेजमेन्ट फरक हो, कति वर्षसम्म तथ्यांक लुकाउन सकिन्छ ? तथ्यबिना सीएलाई लगाउने आरोपमात्र हो,’ महाप्रवन्धक ज्ञवालीले प्रष्ट पारे ।


आशीष ज्ञवाली