उद्योगको ‘इमर्जेन्सी हस्पिटल’ बन्यो मेटल कास्ट, नबिलको साथले नारायणप्रसाद बने सफल उद्यमी



बुटवल । तीन दशकअघि नेपालमा ढलोटसम्बन्धी काम गर्ने सरकारीे स्वामित्वको नेपाल नेपाल ढलोट कम्पनीमात्रै सञ्चालनमा थियो ।

सरकारी कम्पनीले प्रभावकारी काम नगरेको अवस्थामा यससम्बन्धी काम गर्ने निजी कम्पनीको अभाव थियो । ढलोटसम्बन्धी काम सरकारी कम्पनीले धानिरहेका बेला प्रवेश भयो निजी क्षेत्रको नयाँ कम्पनी ।

बुटवलका नारायणप्रसाद शर्माले तीन दशकअघि तीन जना साथीसँग सल्लाह गरे, ढलोट कम्पनी खोल्ने । जतिबेला उनीहरु ठेक्कापट्टाको काम गर्थे ।

तीन साथीको सहयोगमा बुटवल औद्योगिक क्षेत्रमा शुरु भयो ‘मेटल कास्ट कम्पनी’ । शर्माले ३२ हजार रुपैयाँमा उक्त ढलोट उद्योगका लागि चाहिने प्लाट किनेका थिए । तीन दशकदेखि सञ्चालनमा रहेको मेटल कास्ट नेपालको ठूला उद्योगहरुले चिन्ने ढलोट कम्पनी बनेको छ ।

‘अहिले पूर्वदेखि पश्चिमसम्मका उद्योगहरु यहाँ आउनुहुन्छ,’ उनले भने, ‘३० वर्षअघि तीन जनासाथीसँग शुरु गरेको व्यवसाय मुलुककै सबैभन्दा ठूलो ढलोट कम्पनी बनेको छ ।’

सामान्य कामका लागि पनि गोरखपुर हुँदै कानपुर तथा नयाँ दिल्ली जानुपर्ने बाध्यता थियो । शर्माले त्यो बाध्यतामा नेपालमा व्यवसायीक सम्भावना देखेको थिए ।

बुटवल औद्योगिक क्षेत्रमा रहेको उनको उद्योगमा पुग्दा गरिमा सिमेन्टको उद्योगको काम भइरहेको थियो । गरिमा सिमेन्टको उद्योगको मेसिन बिग्रेर बनाउनका लागि मेटल कास्टमा आएको थियो । कारखानामा हरेक किसिमका वस्तुहरु उत्पादन हुन्छन् ।

ठूला तथा मझौला उद्योगलाई चाहिने मेसिन बनाउने तथा मर्मत गर्ने थलो रुपमा मेटल कास्ट परिचित छ । ३० वर्ष अगाडि नारायणप्रसाद शर्माले हेरेको उद्योग अहिले उनका छोरा निश्चल शर्माले व्यवस्थापन सम्हालिरहेका छन् । आफ्नो उद्योगलाई नारायण र निश्चल उद्योगको इमर्जेन्सी हस्पिटलको रुपमा अहिलेसम्म चिनिएको बताउँछन् ।

नबिलको सहयोगले बनाइदिएको उद्यमी
नारायण शर्माको परिचय उद्योग नखोल्दै व्यवसायीको भइसकेको थियो । विद्युुत् प्राधिकरणले बनाएको प्रसारण लाइनको टावरको ठेक्का लिन उनले बैंकबाट ऋण लिएर काम थालिसकेका थिए ।

शर्माले २०३२ सालमा काम गर्नका लागि वाणिज्य बैंकबाट १५ हजार रुपैयाँ ऋण लिएका थिए । त्यसपछि तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल बैंक)सँग पनि ऋण लिएर काम गरिरहेका थिए ।

उद्योगको लागि २७ लाख रुपैयाँ ऋण लिनुपर्ने भयो । त्यो ऋण राष्ट्रिय वाणिज्य बैंकले दिन नसक्ने जवाफ शर्मालाई दियो । १८ वर्ष अगाडि वाणिज्य बैंकबाट नबिलमा सिफ्ट भएको प्रसंग सुनाउदै शर्माले भने, ‘वाणिज्य बैंकले दिन नसकेको २७ लाख नबिलले दियो । त्यही पैसाले मेसिन ल्याएर चलायौं,’ ।

१८ वर्षमा धेरैवटा बैंक थपिए । शर्मा भने नबिल बैंकबाट सिफ्ट भएका छैनन् ।

‘मेसिन ल्याउनका लागि ऋण दिएपछि सबै कारोबार नबिलसँग हुन्छ, उद्योगदेखि घरका लागि चाहिने ऋण नबिलबाट मात्रै लिएको छु, अहिले १५ करोडजति ऋण होला,’ शर्माले भने ।

पछिल्लो ३० वर्षदेखि नारायण शर्माको दैनिकी एउटै छ, बिहान ४ बजे उठ्ने, नित्यकर्म सकेर ६ बजे उद्योग आइपुग्ने । दिनभरी उद्योगमा बसेर घर फर्किने ।

इमर्जेन्सी विशिष्टकृत संस्थामा काम गर्ने चाहना थियो निश्चलको । आफ्ना बुवाले ३० वर्षअघि खोलेको उद्योग आज उद्योगहरुको इमर्जेन्सी सेवा बनेको छ ।

देशभरका साना ठूला उद्योग गरेर ३ हजारभन्दा बढी बिग्रेका सामान मेटल कास्टले बनाएको छ । नयाँ सामान पनि उपलब्ध गराएको छ । त्यसैले त धेरैले मेटल कास्टलाई उद्योगको ‘इमर्जेन्सी अस्पताल’ भनेर चिन्छन् ।

बुवा नारायण शर्माले सुरु गरेको उद्योग चलाउने जिम्मा अहिले निश्चल शर्माको काधमा छ । उनी उद्योगलाई अब इमर्जेन्सी सेवा दिने थालेपछि यसलाई विशिष्टकृत संस्थाको रुपमा विकास गर्न चाहन्छन् ।

‘दुर्घटना भएपछि मलहमपट्टी लगाइदिएजस्तै ठूला तथा मझौला उद्योगका लागि त्यस्तै काम गर्र्यो । अब विशिष्ट सेवा दिने गरेर काम गर्ने छौ,’ निश्चलले योजना सुनाउदै भने ।

मेटल कास्ट उद्योग एक किसिमको म्युजियमजस्तै छ । चोभारमा रहेको हिमाल सिमेन्ट बन्द भएको धेरै भइसक्यो । मेटल कास्टमा हिमाल सिमेन्टमा रहेको क्रेन अहिले पनि सञ्चालनमा छ । नेपाल हाइड्रोको सय वर्षभन्दा पुरानो क्रेन चलिरहेको छ ।

काठमाडौंमा बसेर नीति निर्माताले १५ वर्षभन्दा पुरानो मेसिन चलाउन नदिने नीति बनाएका छन् । ३० वर्षदेखि उद्योग चलाइरहेका शर्मा उद्योगमा मेसिन कति अगाडि बन्योभन्दा पनि त्यसको पार्टपुर्जा र मर्मत सम्भारको आधारमा चलाउन दिने नीति लिनुपर्ने शर्मा बताउँछन् ।

मेटल कास्टले नयाँदेखि पुराना उद्योगको बिग्रेका पाटपुर्जाहरु बनाएका छ । केही समय अगाडि सौर्य सिमेन्टको उद्योग बन्द भयो । नयाँ प्रविधिमा खुलेको उद्योगको ढुंगा फुटाउने मेसिन बिग्रिएको थियो । त्यसलाई मेटल कास्टले १० दिनभित्र बनाएर दियो ।

उद्योगमा अहिले पाल्पाको सिजी सिमेन्टदेखि लिएर केही चिनी उद्योग तथा ट्याक्टरका केही कामहरु भइरहेका थिए ।

‘सिमेन्ट, डण्डी, चिनीजस्ता ठूला उद्योग खुलेपछि यसको ‘इकोसिस्टम’अन्तर्गत मेटल कास्ट जस्ता उद्योग खुल्छन् । हामीले कम्तीमा उद्योगहरुलाई गोरखपुर तथा कानपुर हुँदै दिल्ली जानुपर्ने बाध्यताको अन्त्य गर्न लागेका छौ,’ निश्चलले भने ।

अहिले उद्योगमा ७० जना काम गर्छन् । यस्ता खाले उद्योगमा धेरैको बुझाइ भारतीय कामदार बढी हुन्छन् भन्ने हो । मेटल कास्ट त्यसमा अपवाद छ । ७० जनामा धेरै नेपालीले काम गर्छन् अझ बढी दक्ष कामदार बढी नेपाली नै छन् ।

बुटवल औद्योगिक क्षेत्रभित्र विजुली बढी प्रयोग गर्ने र कारोबार गर्ने कम गर्ने उद्योगमा मेटल कास्ट पर्छ ।

‘पूर्ण क्षमतामा मिल चलेमा ५ मेगावाट विजुली मेटल कास्टले प्रयोग गर्छ, विजुली बढी प्रयोग भएपनि सेल्स हाम्रो कम हुन्छ,’ शर्माले भने ।

मेटलजन्य क्षेत्रमा ठूलो बजारको सम्भावना रहेको नारायण शर्माले देखेका छन् । अहिले पनि कति सामानहरु मर्मत गर्न तथा नयाँ बनाउनको लागि भारतीय कम्पनीको भर पर्नुपर्ने अवस्था छ ।

३० वर्षभन्दा बढी मेटलमा बिताएको अनुभवको आधारमा नारायणप्रसाद शर्मा ४० अर्बभन्दा बढीको आकारको बजार मेटलको हुनसक्ने देख्नछन् । यसका लागि अरु कम्पनीहरु आएमा तथा सरकारले सहयोग गरेमा ठूलो उद्योगको मेटल कास्ट विकास हुने बुझाइ शर्माको छ ।


आशीष ज्ञवाली