सेयर लगानीकर्तालाई आगामी आवको बजेटः कागलाई बेल पाक्यो हर्ष न बिस्मात



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।

उक्त बजेटले सेयर बजारलाई भने अपेक्षा अनुसार समेटन नसकेको बताइएको छ । लगानीकर्ताका अुनसार आगामी आवको बजेट सेयर बजारका लागि कागलाई बेल पाक्यो हर्ष न बिष्मात भएजस्तो भएको प्रतिकृया दिएका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले ल्याएको बजेटले लगानीकर्तामा उत्साह ल्याउन नसकेको बताइन् ।

‘पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने आर्थिक वर्ष २०७९/०८० मा पनि सबै पुरानै पाना दोहोरिएको पाईयो । नयाँ बजेट नामकरण मात्र भएको छ’ उनले भनिन् ‘पुँजीबजार सुधारको कुरा हरेक बर्षको बजेटमा दोहोरिरहने तर त्यो बजेटमा मात्र सिमित रहने हुँदा लगानीकर्ता यसको मारमा पर्दै आएका छन् ।’

नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारैतिर बाँट थिलथिलो हुँदै गएको पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत बिषय र समस्याहरु यो बजेटमा समावेश हुन नसकेको उनको तर्क छ । ‘लाखौं लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले प्राथमिकतामा राख्न नसक्नु बिडम्बना र यो भन्दा निकम्मापना के हुन सक्छ ? भन्दै पोखरेलले प्रश्न गरेकी छिन् ।

प्रत्यक्ष रुपमा बजारलाई छुने केही कुरा नभएकाले यसपालीको पनि बजेट पुँजीबजारका लगानीकर्ताहरुका लागि कागलाई बेल पाके जस्तो भएको उनको तर्क छ ।

यता नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल पनि यो बजेट लगानीकर्ताका लागि कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तो भएको बताउँछन् ।

‘सेयर बजारलाई नराम्रो पनि छैन, राम्रो पनि छैन’ उनले भने, ‘बाँकी पुरानै कुरा रटान छ ।’ बजेटले नियामकको क्षमता अभिवृद्धि गर्ने भनेको भएपनि त्यसमा स्पष्ट नभएको उनको भनाइ छ ।

बजेटमा १ अर्ब पुँजी भएका कम्पनी आइपीओमा जाने भनेको छ, विदेशमा रहेकोलाई १० प्रतिशत आरक्षण दिने विषय राम्रो भएको उनको तर्क छ । सेयर बजारले बजेटमा धेरै अपेक्षा नगरेको भन्दै राष्ट्र बैंकले समेटे लगानीकर्ताको हित हुने उनको भनाइ छ ।


क्लिकमान्डु