प्रतिव्यक्ति सार्वजनिक ॠण ६३ हजार ३०० पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपाल सरकारले १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ कर्जा लिएको छ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९१ हजार ४८० भाग गर्दा हरेक नेपालीको भागमा ६३ हजार ३०० रुपैयाँ सार्वजनिक ॠण तिर्नु पर्ने भएको हो।


शनिबार सार्वजनिक गरिएको ‘आर्थिक सर्वेक्षण २०७८/७९’ अनुसार नेपाल सरकारले देशभित्रबाट लिएको ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ ॠण र देश बाहिरका विभिन्न निकायबाट लिएको ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।

यो वर्षको ८ महिना अवधिमा मात्र सरकारी ऋण १ खर्ब ११ अर्ब रुपैयाँले बढेको हो । २०७८ असार मसान्तसम्ममा आन्तरिक र बाह्य गरि सरकारको ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ६६ अर्ब ४७ करोड रुपैयाँबराबर साँवा ब्याज भुक्तानी गरेको छ । जसमा साँवा ४२ अर्ब ५१ करोड र ब्याज २३ अर्ब ५५ करोड रहेको छ।

सरकारले आन्तरिक ऋणको २९ अर्ब २५ करोड र बाह्य ऋण १३ अर्ब ६६ करोड रुपैयाँ साँवा तिरेको हो । यस्तै, आन्तरिक ऋणको १९ अर्ब ११ करोड र बाह्य ऋणको ब्याज ४ अर्ब ५ करोड रुपैयाँबराबर ब्याज भुक्तानी गरिएकोछ ।

चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा नेपाल सरकारले ९ अर्ब ४६ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ । यश अवधीमा नेपालले १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहयोग प्रतिवद्धता प्राप्त गरेको थियो।


क्लिकमान्डु