ओलीलाई प्रचण्डको चुनौतीः २ पटकसम्म मैले सहयोग गरे अब एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउनुहोस्



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीलाई एक्लै लडेर प्रधानमन्त्री बन्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘दुई पटकसम्म त मैले नै सहयोग गरे तपाईं प्रधानमन्त्री बन्नु भयो, अब एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउनुहोस् ।’

‘उहाँले वैशाखी टेक्ने छैन भन्नु भयो । मेरो अगाडि कम्तीमा पनि जसको सहयोगले उहाँ २ पटक प्रधानमन्त्री बन्नु भयो उहाँले त्यसो भन्नु सुहाउन्न । यो वैशाखी हो कि सहयोग हो ? उहाँले एमालेको सरकारको भन्नु भयो, उहाँको सरकार एमालेको सरकार एमालेको होइन नेकपाको सरकार हो,’ प्रचण्डले भने ।

‘उहाँ बालुवाटारमा दीर्घकालीन नै बस्छु भन्ने तरिकाले तयारी गर्नु भएको थियो तर आफ्नै पार्टी फुटाएर, आफ्नै सरकार ढलाएर बालकोट जानु भयो, त्यसपछि ७ वटै प्रदेशका सरकार पनि ढले, राष्ट्रिय सभा, बार एसोसिएसन र स्थानीय तहको निर्वाचन पनि भयो र पनि उहाँमा रियलाइजेसन भएन,’ प्रचण्डले भने ।

तर उहाँले ३ घण्टासम्म अहंकार र दम्भबाट पछि नहटेको र अरुलाई गाली गर्नमा मात्रै केन्द्रित भएको बताए ।

उनले आजको समयमा एकले अर्कालाई घोचपेच गर्ने तरिका ठीक नभएको बताए ।

‘अहिले समस्या समाधानको बाटो देखाउने भन्दै एकले अर्कालाई गाली गर्ने मात्रै बानी कायमै छ कि भन्ने देखिएको छ,’ उनले भने ।

उनले स्थानीय तहको निर्वाचनमा ठूलो सहभागिता देखिएको र विदेशबाट समेत निर्वाचनमा भाग लिनका लागि कैयौ मानिसहरु नेपाल आएको भन्दै उनीहरुलाई धन्यवाद समेत दिए ।

उनले निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा नदेखिएपछि सरकारलाई धारे हात लगाउन नहुने समेत बताए ।

उनले केपी ओलीले शान्ति सम्झौतालाई अपमान गर्ने र घृणा फैलाउने काम गरेको समेत बताए ।

प्रतिपक्ष दलको नेताले नै शान्ति सम्झौतालाई अपमान गर्ने ढंगले बोरामा मान्छे हाल्ने, जनतालाई धम्क्याउने खालको कुरा गर्नु भयो ।

‘मैले यदि शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिका साथीहरुलाई तपाई टाउको काट्ने मान्छे होइन, हत्याराका रुपमा जेल बसेको होइन भने भने त्यो जायज हुन्छ त ? हुँदैन अहिले परिस्थिती फरक भइसकेको छ । पटक–पटक अपमानित गर्ने ढंगले काम गर्ने हो भने जनताका लागि काम गर्न सकिन्न ।’


क्लिकमान्डु