आयोजना प्रभावित जनताले किनेनन् दोर्दी खोला जलविद्युतको सेयर



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएको साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ ।

कम्पनीले स्थानीयका लागि छुट्याएको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर मध्ये ७ लाख ५६ हजार ४२० कित्ता सेयर बाँडफाँट गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण सेयर बिहीबार बाँडफाँट गरेको हो ।

कम्पनीका अनुसार २ लाख ९७ हजार ८४० कित्ताका लागि स्थानीयको आवेदन परेको छैन । कम्पनीले आयोजना प्रभावित सर्वसाधारणलाई निष्कासन गरेको सेयरमा माग अनुसार अवोदन परेको छैन । स्थानीयले नकिनेको सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ ।

दोर्दी खोलाले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १०० रूपैयाँ अंकित दरको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविसका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको थियो । सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकको वेभसाइटमा गई हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु