विदेशमा नेपालीलाई लगानी गर्न दिन उदार हुनुपर्ने अवस्था आयोः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको‘मेक इन नेपाल स्वदेशी समिट’ मा गभर्नर अधिकारीले विदेशी लगानीकर्ता भित्राउने भएपछि स्वदेशका लगानीकर्तालाई विदेशमा लगानी गर्नदिनुपर्ने नीति लिनुपर्ने बताएका हुन् ।

‘लगानी बोर्डमा म आफू सीइओ हुँदा विदेशी लगानीकर्ताले यो विषयमा चासो राखेका थिए,अहिलेको अवस्थामा लगानी प्रतिबन्ध लगाउनुपर्ने कानुनको आवश्यक्ता छैन,’ अधिकारीले भने ।

नेपालमा अहिले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ छ । जसले वैधानिक तरिकाले विदेशमा लगानी गर्न दिएको छैन ।

गभर्नर अधिकारीले विदेशी लगानीमा नेपाल उदार रहेको भन्दै केही व्यवसायीले नेपालमा लगानी गरेपछि आफ्ना आफन्तको नाममा सेयर बिक्री गरेर विदेशी लगानी भन्दै लाभांश लैजान खोज्नेलाई निरुत्साहन गरिएको बताए ।


क्लिकमान्डु