आयल निगम टाट पल्टिने अवस्थामा छ, खाना पकाउने ग्यासमा अनुदान दिन सकिन्नः मन्त्री बडू



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडू नेपाल आयल निगम टाट पल्टिने अवस्थमा पुगेको बताएका छन् ।

हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताए ।

‘पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि दबाब पर्छ । नबढाउँदा निगमको घाटा बढिरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले भने, ‘अब सधैं खाना पकाउने ग्याँसमा अनुदान दिन सकिदैन् । त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको छ ।’

‘पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाने र सधैं सरकारले अनुदान दिने भन्ने हुँदैन्,’ मन्त्री बडूले भने, ‘विद्युत् हाम्रो आन्तरिक उत्पादन हो । ग्यासँमा अनुदान दिनुभन्दा विद्युतमा अनुदान दिनुपर्छ ।’

इन्धनको आपुर्तिमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा समेत मन्त्रालयले अध्ययन गरिरहेको मन्त्री बडूले जानकारी दिए ।

आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई सबै सहयोग गर्न सरकार तयार रहेको मन्त्री बडूले प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु