छोटो समयमा धेरै रुचाइएको गाडी बन्यो क्रेटा, ७ वर्षमा ८ हजार ५०० वटा बिक्री



काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्व चर्चित गाडी उत्पादक कम्पनी हुन्डाइका गाडीहरु लामो समयदेखि नेपालमा बिक्री गरिरहेको छ ।

नेपालमा अहिले यस कम्पनीका एक दर्जन मोडलका गाडी उपलब्ध छन् । यी गाडीमध्ये सबैभन्दा धेरै चर्चा कमाएको र बिक्री भएको गाडी हो स्यान्ट्रो ।

तर, पछिल्लो समय छोटो अवधिमा सबैभन्दा धेरै बिक्री हुने गाडीमा परेको छ, ‘क्रेटा’ ।

नेपालमा हुन्डाइको क्रेटा गाडी सार्वजनिक भएको सात वर्ष भएको छ । सात वर्षको अवधिमा ८ हजार ५ सय क्रेटा बिक्री भएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए ।

‘हामीले बिक्री गाडीहरुमध्ये छोटो समयमा धेरै बिक्री हुने गाडी क्रेटा हो,’ श्रेष्ठले भने, ‘गत वर्ष २०२१ मा १५ सय क्रेटा बिक्री भएका थिए ।’

छोटो अवधिमा बिक्री हुने गाडीमध्ये क्रेटाले स्यान्ट्रोलाई पनि उछिनेको छ । पछिल्लो वर्षको वार्षिक बिक्रीमा हेर्ने हो भने क्रेटा धेरै बिक्री भएको छ ।

क्रेटा ब्रान्डमा चार मोडल छन् । भेरियन्ट हेरेर यसको मूल्य र बिक्री फरक छन् ।

श्रेष्ठका अनुसार ‘क्रेटा एस’ अलि धेरै मन पराइएको गाडी हो । यसको मल्य ५३ लाख ९६ हजार रुपैयाँ छ ।

नेपालमा सबैभन्दा पहिला क्रेटा ई आएको थियो । त्यसपछि क्रेटा एस, एसएक्स, एसएक्स ओ मोडलमा उपलब्ध छन् । यसमा पनि अटोमेटिक र म्यानुअल भन्ने अप्सन छन् ।

गएको वर्ष सार्वजनिक भएको क्रेटाको माग अझ धेरै भइरहेको श्रेष्ठले बताए । बजारको मागअनुसार भने गाडी उपलब्ध हुनसकेको छैन । कोभिडपछि चिप्सलगायत विभिन्न सामानको अभावले उत्पादकले मागअनुसार गाडी पठाउन नसकेको उनले बताए ।

नेपालमा गाडी बिक्रीको प्रवृत्ति भारतको भन्दा फरक शैलीको भएको उनी बताउँछन् ।

‘भारतमा ३० लाखको गाडी किन्न गयो भने २५ लाखको किनेर आउँछन् । आफ्नो बजेटभित्र कारोबार गर्छन,’ श्रेष्ठ भन्छन्, ‘नेपालीले भने ३० लाखको किन्न गएमा ५० लाखको किनेर आउँछ । एक पटक किन्ने हो, राम्रै किनौं न भनेर सोचेभन्दा महंगो नै किन्छन् ।’

नेपालाम उपलब्ध हुन्डाइका गाडीमा सबैभन्दा सस्तो गाडी भनेको स्यान्ट्रो हो । स्यान्ट्रो २४ लाख र २७ लाख रुपैयाँमा उपलब्ध छन् । तर, २७ लाखको मोडल सबैभन्दा धेरै बिक्री हुन्छ । २४ लाखमा धेरै अप्सन छैनन् ।

त्यस्तै सबैभन्दा महंगो पर्ने गाडी हो पालिसेड । यो गाडीको बजार मूल्य २ करोड २६ लाख रुपैयाँ छ । एउटै मोडलमा उपलब्ध रहेको यो गाडी चार वर्षअघि ३ वटा आयात गरिएको थियो । त्यसमध्ये ३ वटा बिक्री भइसकेका छन् भने एउटा स्टकमा छ ।

महंगो पगर्ने अर्को गाडी हो टक्सन । यो गाडीको मूल्य ९० लाखबाट शुरु भएर १ करोड ४० लाखसम्म पर्छ । त्यसपछि आउँछ ‘सान्टा फे’ जसको मूल्य १ करोड ७० लाखदेखि २ करोडसम्म पर्छ ।

यी बाहेक हुन्डाइका ग्रान्ड आइ टेन, आइ २०, अउरा, भेन्यु, भेर्ना, कोना इलेक्ट्रिक र आयोनिक ब्रान्डका गाडी बजारमा उपलब्ध छन् ।


क्लिकमान्डु