चौधरी फाउन्डेसनको सहयोगमा नवनिर्मित कान्ति बाल अस्पतालको अकस्मिक कक्ष सञ्चालनमा



काठमाडौं । चौधरी फाउन्डेसनको सहयोगमा स्तरोन्नति गरिएको कान्ति बाल अस्पतालको नवनिर्मित आकस्मिक कक्ष संचालनमा आएको छ ।

बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आकस्मिक कक्षको उद्घाटन तथा उपकरण हस्तान्तरण भएको छ ।

सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गरेको उक्त अकस्मिक कक्षमा २५ शय्या छन् । अहिले सञ्चालनमा रहेको अकस्मिक कक्षमा १४ शय्या छन् ।

छुट्टै भवनमा अकस्मिक कक्षको स्तरोन्नति र नयाँ उपकरण थप गरेर सञ्चालनमा ल्याइएको कान्ति अस्पतालले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले चौधरी फाउन्डेसनले निकै महत्वपूण क्षेत्रमा सहयोग गरेको बताए ।

‘निर्वाणजीले यो काम गर्न लागेको छु भन्दा मैले पनि उत्साह थपेको थिएँ,’ श्रेष्ठले भने, ‘स्वाथ्य शिक्षामा निजी क्षेत्रबाट सहयोग हुन आवश्यकता छ ।’

त्यस्तै, स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले यस कान्ती बाल अस्पतालको अकस्मिक कक्षको स्तरोन्नतिको लागि धेरै संस्थामा सहयोग मागे पनि चौधरी फाउन्डेसनले मात्र सहयोग गर्न तयार भएको बताए ।

आगामी दिनमा पनि यस अस्पताल वा अन्य स्वास्थ्यका क्षेत्रमा फाउन्डेसनको सहयोगको अपेक्षा गरेको सचिव पोखरेलले बताए ।

कार्यक्रममा बोल्दै चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले बालबालिकाको उपचारको लागि अकस्मिक कक्ष जस्तो काममा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उनले व्यक्तिगत रुपमाभन्दा अस्पताल, स्कुल वा यस्ता संस्था मार्फत सहयोग गर्दा त्यो सहयोग एकै पटक धेरै माझ पुग्ने बताए ।

कार्यक्रममा बोल्दै चौधरी फाउन्डेसन महासविच सारिकका चौधरीले तीन दशकअघि यही अस्पतालमा आएर पाँच वर्षे निर्वाण चौधरीलाई उपचार गरेको सम्झना गरिन ।

‘उ पाँच वर्षको हुँदा मैले यही अस्पतालमा आएर उपचार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले निर्माणले नै यसलाई सहयोग गरेको देख्दा खुसी लागेको छ ।’


क्लिकमान्डु