भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चाउचाउ र बिस्कुटको मूल्य २५%सम्म बढ्न सक्ने



काठमाडौं । भारत सरकारले गत साता गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । यसका पछाडि भारतले आन्तरिक उत्पादन निकै कम भएको र रुस-युक्रेन युद्धका कारण गहुँको विश्वभर भएको मूल्यवृद्धिलाई कारक बताएको छ ।

यद्यपि यो अल्पकालीन निर्णय हो । तर कति समयका लागि भनेर तोकिएको भने छैन । तर भारत सरकारको अनुमति लिएर कुनै देशको खाद्य सुरक्षा बचाउनका लागि र विशेष सम्झौता भएका मुलुकहरुमा भने निर्यातमा रोक लगाइएको छैन ।

गहुँ उत्पादनमा आएको कमी तथा रुस र युक्रेनबीचको सैन्य युद्धका कारण गहुँको मूल्य ६० प्रतिशतले बढिसकेको छ । भारत सरकारको गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णयलाई जी७ राष्ट्रहरुले विश्वमा ठूलो खाद्य संकट निम्तन सक्ने भन्दै विरोध समेत जनाएका छन् ।

भारतले विशेष गरी बंगलादेश, अफगानिस्तान, नेपाल, कतार, यूएई, इन्डोनेसिया, श्रीलंका, ओमान, यमन र मलेसियामा गहुँ निर्यात गर्दै आएको छ । भारतमा यो वर्ष गहुँको उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । र, यसको मुख्य कारण पर्यावरणलाई मानिएको छ ।

कृषि वैज्ञानिकहरुका अनुसार मार्च महिनामा गहुँका लागि ३० डिग्रीभन्दा बढी तापक्रम हुनुहुँदैन । तर यस वर्ष यस्तो तापक्रम ४० डिग्रीसम्म पुगिसकेको थियो ।

भारतमा ९ मेसम्म प्रतिकेजी १९.३४ भारु रहेको गहुँको मूल्य एक सातामा बढेर २९.४९ भारु पुगेको छ । भारत सरकारले गहुँको उत्पादन सन् २०२२-२३ मा १११ मिलियन टन हुने अनुमान गरिएकोमा त्यसलाई घटाएर १०५ मिलियन टन बनाइएको छ ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने निर्णयसँग यसको प्रत्यक्ष असर नेपालमा पर्ने भएको छ । नेपालमा बेकरी प्रडक्टहरु बिस्कुट र चाउचाउलगायतका उत्पादनका लागि गहुँको प्रयोग हुन्छ र यस्तो गहुँ स्वदेशी उत्पादनले मात्रै नपुगेर भारतबाट आयात भइरहेको छ ।

आयात बन्द हुँदा नेपाली बजारमा माग र आपूर्तीबीच समस्या उत्पादन भए मूल्य बढ्ने भन्दै यसले उत्पादन लागत बढाउन सक्ने उद्योगीहरुको भनाइ छ ।

गहुँको खपत विशेष गरी फुड प्रडक्टहरु बेकरी, चाउचाउ, पास्ता, बिस्कुट, आटालगायतमा बढी हुन्छ । यदि बजारमा आयात प्रतिबन्धकै कारण गहुँ अभाव भए प्रडक्टको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्न सक्ने उनीहरुको दाबी छ ।

यशोदा फुड्स प्रालिका अध्यक्ष नरिश्वर पौडेल आफूहरुले मिल व्यवसायीहरुबाटै गहुँको पिठो खरिद गर्दै आए पनि ती मिलहरुले भने भारतबाट नै गहुँ आयात गरिरहेको बताए । उनले अब भारतबाट आयात बन्द भएपछि आपूर्ती असहज हुने र यसले मूल्य बढाउने बताउँछन् ।

‘आन्तरिक उत्पादनले धान्ने हो भने कुनै असर पर्दैन तर त्यसले नपुग्ने अवस्था आयो भने मूल्य बढ्ने र उत्पादनको लागत बढ्न, यसले स्वतः उपभोक्तालाई असर पर्छ,’ उनले भने ।

उनका अनुसार फुड आइटम उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादित वस्तुको मूल्य सकेसम्म स्थिर भएको देख्न चाहन्छन् । तर कच्चा पदार्थको अभाव भयो भने नाफा संकुचन गर्दा समेत नभए मूल्य बढाउनुपर्ने हुन्छ ।

त्यसैगरी, नेबिको बिस्कुट कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेलले भारत सरकारको गहुँ निकासीको प्रतिबन्धले बिस्कुट, चाउचाउलगायत गहुँ प्रयोग हुने वस्तुमा असर देखिने बताए । साथै, नेपाल र भारतको बोर्डर खुल्ला भएकाले पनि उक्त निर्णयले कालोबजारीलाई प्रोत्साहन गर्ने उनको दाबी छ ।

‘नेपालमा भारतबाट ठूलो मात्रामा गहुँ आयात भइरहेको अवस्थामा प्रतिबन्ध लागेको छ,’ उनले भने, ‘आगामी दिनमा आयात गर्न नसक्ने हो स्वतः उत्पादित वस्तुको मूल्य बढ्नेछ ।’

उनकाअनुसार हालको अवस्थालाई हेर्ने हो भने उत्पादित वस्तुमा २५ प्रतिशतसम्म मूल्य बढाउनुपर्ने बाध्यता हुनेछ । साथै, बजारमै गहुँको अभाव र महंगी बढेपछि उत्पादनमा कम गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

सीजी कम्पनीका जनरल म्यानेजर मधुसुधन पौडेलले दैनिक उपभोग गर्ने गहुँले प्रत्यक्ष उपभोक्तालाई असर पर्ने बताए । फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) उद्योगको हकमा गहुँलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भएकाले यस क्षेत्रका उद्योगलाई सबैभन्दा बढी असर देखिने उनले बताए ।

‘अहिलेसम्म आधिकारिक रुपमा कस्तो प्रकारको गहुँलाई प्रतिबन्ध गरेको हो स्पष्ट छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘यदि भारत सरकारले कच्चा पदार्थसँगै पिठो सबैमा प्रतिबन्ध गरेको हो भने मूल्य श्रृङ्खलासँगै अभाव देखिनेछ ।’

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए त्यसको विकल्प खोजिनुपर्ने उद्योगीहरुको भनाइ छ । तर, अन्य देशबाट आयात गर्दा ढुवानीलगायतका खर्चले गहुँको मूल्य स्वतः बढ्ने उनीहरुको भनाइ छ ।

९ महिनामा ६ अर्बको गहुँ आयात
नेपालले चालु आवको ९ महिनाको अवधिमै करिब ६ अर्ब बराबरको गहुँ आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चैत मसान्तसम्ममा ५ अर्ब ९७ करोड ३७ लाख रुपैयाँको १८ करोड ९ लाख ५९ हजार ९१२ केजी (१ लाख ८१ हजार मेट्रिक टन) गहुँ आयात भभएको छ । यो सबै भारतबाट आयात भएको गहुँँको तथ्याङ्क हो ।

साथै, आर्थिक वर्ष २०७७/७८ मा नेपालले ११ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ बराबरको ३ लाख ८८ हजार मेट्रिक टन गहुँ आयात गरेको थियो ।

कृषि मन्त्रालयका अनुसार यो वर्ष २१ लाख ४४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ । र, यो गत वर्र्षको तुलनामा २.९९ प्रतिशत कम उत्पादन हो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सान्जेलल गहुँको उत्पादन केही मात्राले घटेको बताए । एकातिर आन्तरिक उत्पादन घटेको छ भने अर्कोतर्फ भारत सरकारले प्रतिबन्ध गरेसँगै पास्ता, चाउमिन, चाउचाउलगायत बेकरी प्रडक्टको मूल्य बढ्न सक्ने उनको भनाइ छ ।

त्यसैगरी, गहुँको निकासीमा प्रतिबन्ध गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक उत्पादन र आन्तरिक खपत कति हो भन्नेबार छलफल शुरु गरेको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।

‘भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा वार्षिक कति गहुँ खपत हुन्छ ? उत्पादन कति छ ? अपुग कति हो ? यसबारे अध्ययन शुरु भइसकेको छ,’ उनले भने ।


अरिष्मा मोक्तान