वृज सिमेन्टको आम्दानी गत वर्ष ५% ले बढ्यो, यो वर्ष घट्ने प्रक्षेपण



काठमाडौं । वृज सिमेन्ट उद्योगको आम्दानी ५ प्रतिशतले बढेको छ ।

कोरोना महामारी शुरु हुनु अघि वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको कम्पनीको आम्दानी त्यसपछि भने घटेको छ । तर, सन् २०२१ मा कोरोना महामारीको असर रहे पनि ५ प्रतिशतले आम्दानी बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, कम्पनीले सन् २०२० मा ४ अर्ब २३ करोड २० लाख रुपयाँ आम्दानी गरेको थियो । साथै, कम्पनीले सन् २०२२ को ६ महिनामा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ मात्रै आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीअनुसार सन् २०२२ को ६ महिनाको अवधिमा मूल्यलगायत तरलता अभावले गर्दा आम्दानी घट्ने जनाएको छ ।

सन् २००० देखि उत्पादन शुरु भएको वृज सिमेन्टको ३ सयभन्दा बढी डिलर छन । कम्पनीले सन् २०२१ मा कार्यशील पूँजीमा सुधार गरेको जनाएको छ । सन् २०२० मा ३६ प्रतिशत कार्यशील पूँजी रहेको कम्पनीको सन् २०२१ मा भने २१ प्रतिशत मात्रै रहेको छ । साथै, सन् २०२२ को अर्धवार्षिकमा २५ प्रतिशत हुने उल्लेख गरेको छ ।

केडिया अर्गनाइजेशनले सञ्चालन गरेको वृज सिमेन्टमा ५० प्रतिशत सेयर भने भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको छ ।

वृज सिमेन्टले ग्रान्डिङ सिमेन्ट उत्पादन गर्नका लागि ७३ प्रतिशत क्लिङ्कर अर्घाखाँची सिमेन्टबाट खपत गर्दै आएको छ ।

कम्पनीले ५ प्रतिशतले आम्दानी बढाउँदा १३ प्रतिशतले सिमेन्टको परिमाणको बिक्री बढेको छ । कोरोना महामारीको असर र प्रतिस्पर्धी बजारमा कम्पनीको सन् २०२० मा २३ प्रतिशतले सिमेन्टको बिक्री घटेको थियो । जसमा कोरोनाभन्दा अगाडिको तुलनामा कोरोनाको समयमा सिमेन्टको परिमाणमा र आम्दानी दुबै कम भएको छ ।

सन् २००० मा स्थापना भएको कम्पनीको दैनिक १२ सय टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता रहेको छ । केडिया अर्गनाइजेशनको ७ जना सेयरधनी रहेको वृज सिमेन्टमा ५० प्रतिशत सेयर भने शान्त सिमेन्टको छ ।

कम्पनीले पोर्टल्यान्ड सिमेन्ट (पीसी) अन्तर्गत दुई वटा ब्रान्ड, पोजोलाना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी) अन्तर्गत ५ वटा ब्रान्ड र पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) अन्तर्गत एउटा मात्रै ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, कम्पनीले १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँको दीर्घकालिन र अल्पकालिन कर्जाका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ५२ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १ अर्ब २१ करोड रुपैयाँको रेटिङ पाइको इक्रा नेपालले जनाएको छ ।

यसभन्दा अगाडि कम्पनीले १ अर्ब ९७ करोड ८ लाख रुपैयाँको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो ।


क्लिकमान्डु