२२ वर्षिय राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित , स्थानीय तहको कान्छो प्रमुख



काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव निर्वाचित भएका छन् ।

२२ वर्षिय यादव नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।
काठमाडौं स्थित एपेक्स कलेजमा बिबिए अध्ययनरत यादवले नेपाली कांग्रेसका हरिनन्द प्रसाद यादवलाई १ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार यादवले २ हजार ३९२ मत पाएका थिए । राजाबाबु नेकपा माओवादीका नेता शिव पुजन यादवका छोरा हुन् ।

संविधान सभा सदस्य रहेका यादवलाई कुटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै विशेष अदालतले सजाय गरेका छ ।
२०७४ सालको संसदीय निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका यादवको उम्मेदवारी राहादानी दुरुपयोगमा सजाय पाएको भन्दै निर्वाचन आयोगले रद्द गरेको थियो ।

सर्वोच्च अदालतले समेत निर्वाचन आयोगको निर्णय सदर गरेपछि यादव २०७४ को संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाएका थिएनन् । आफु उम्मेदवार बन्न नपाएका यादवले स्थानीय तह निर्वाचनमा आफ्ना छोरा राजाबाबुलाई उम्मेदवार बनाएका हुन् ।
रामनगर गाउँपालिकामा निर्वाचित राजाबाबु स्थानीय तहका कान्छा प्रमुख हुन् । गत निर्वाचनमा समेत २२ वर्षमा कुनै पनि व्यक्ति स्थानीय तहको प्रमुख निर्वाचित भएका थिएनन् ।

रामनगर गाउँपालिकाको उपाध्यक्षमा समेत माओवादी केन्द्रकी गीता देवी विजयी भएकी छिन् । उनले ३ हजार ५२३ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षमा गीता देवी की निकटतम प्रतिद्वन्दी कोशिला साहले २ हजार ६३७ मत प्राप्त गरेकी थिइन् ।


क्लिकमान्डु