जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । यो निर्वाचन भएकाले जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्ने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताए ।

उनले सबैले मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताए । अध्यक्ष दाहालले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने बताए ।

‘पहिलो कुरा यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन हो । यो सफल हुनुपर्दछ । सबैले स्वतन्त्रतापूर्वक र आत्मविश्वासको साथ यसमा सहभागी हुनुपर्दछ । मैले आफैँ हुर्केबढेको ठाउँको बुथमा आएर मतदान गर्दा मलाई खुशी लागेको छ’ उनले भने ‘जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छ । जित हारकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन ।’

अध्यक्ष दाहालले चितवनमा आफ्ना मतदातालाई धम्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गरे ।


क्लिकमान्डु