स्थानीय तहको निर्वाचनः कुन नेताले कहाँबाट गरे मतदान ?



काठमाडौं । आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान सुरु भएपछि विभिन्न दलका शिर्षस्थ नेता तथा उमेदवारहरुले मतदान सुरु गरिसकेका तन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । उनले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो ।

यस्तै एमाले उपाध्य विष्णु पौडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यस्तै एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । उनले ताप्लेजुङ्को मैवाखोला गाउँपालिका ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका ९२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

नेकपा एकीकृत (समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका–६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्बाट मतदान गरेका छन् ।

नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले काठमाडौैं महानगरपालिका–१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका–५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका–९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गरेका छन् ।

एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा मतदान गरेका छन् । एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गरेको एमाले गुल्मीले जनाएको छ ।

त्यस्तै, एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गरेका छन् । एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल–११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै, एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ को अर्घा रजस्थल माविबाट मतदान गरेका छन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका– १ हुंगाको जनजागृति माविमा मतदान गरेका छन् ।

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका–१ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस्तै काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।

यस्तैगरी भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले पनि मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।


क्लिकमान्डु