भारतका प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल आउँदै



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार औपचारिक भ्रमणमा नेपाल आउन लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । मोदी बुद्ध जयन्तीका दिन लुम्बिनी आउनेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदी यो सहित पाँचौँ पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ ।


क्लिकमान्डु