२ वटा जलविद्युत कम्पनीलाई मर्जरमा जान सहमति



काठमाडौ । विद्युत नियमन आयोगले २ वटा जलविद्युत कम्पनीलाई एक आपसमा गाभिनका लािग सहमति दिएको छ ।

आयोगले रिडि हाईड्रोपावर डेभलपमेण्ट र रैराङ हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आपसमा गाभिनका लागि वैशाख १९ गते सहमति दिएको हो ।

आयोगका अनुसार पुस २६ मा दुवै कम्पनीले निवेदन पेश गरेका थिए । त्यसको आधारमा आयोगले छलफल गरेर दुवै कम्पनीलाई गाभिन सहमति दिएको हो । दुवै कम्पनी गाभिएपछि चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ हुने छ ।
आयोगले दुवै कम्पनीलाई ४ वटा शर्त सहित सहमति दिएको छ । जसमा आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका वमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय समयमा आदेश परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।

प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने छ । कम्पनीले आयोगबाट समय समयमा जारी गरेको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्ने छ ।

कम्पनीहरु गाभिने सम्बन्धमा अन्य प्रचलित ऐन, नियमावली वा निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको व्यवस्था पालना गर्नुपर्ने भएमा सो को समेत पालना गर्नुपर्नेछ ।


क्लिकमान्डु