आगामी जेठ ६ गतेबाट व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट मात्रै



काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालले आगामी जेठ ६ गते देखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

कार्यालयले २०७८ माघ २ गते देखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गते देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भिड हटेको छ ।

हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाईनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।

वैधानिकीकरण मार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने कामदार सरह श्रम स्वीकृति दिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकोले अब वैधानिकीकरणमार्फत् श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुने कार्यालयले जनाएको छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिको लागि अनलाईनमा अपलोड गर्नुपर्ने कागजातहरु भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखिकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सिप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाईनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण रहेका छन् ।

श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावासको सिफारिस पत्र पनि अपलोड गर्नुपर्छ ।

वैदेशिक रोजगारको नाममा भिजिट भिसामा गएका एवम् व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकोले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रकृया सम्बन्धी निर्देशिका, २०६९ को प्रकृया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणिकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा २०७९ वैशाख देखि सरकारले क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।

प्रमाणिकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले पेश गर्नुपर्ने कागजातहरु राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपि लगायतका विवरण रहेका छन् । यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्छ ।

कार्यालयले रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । केही सेवाग्राहीले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाईएकोले यस्तो आग्रह गरिएको कार्यालय प्रमुख रमेश अर्यालले बताए ।

पूर्ण रुपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्या अनुसार श्र स्वीकृतिको काम हुने भएकोले पछाडिको आवेदनलाई अगाडि ल्याउन सकिदैन ।

अधिकांश सेवाग्राहीको अनलाइन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए तापनि केही सेवाग्राहीको कागजात अपुग हुने, अस्पष्ट हुने लगायतका कारणले आवेदन अस्वीकृत गर्नुपर्ने हुन्छ ।

यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाही सर्भर लगायत प्राविधिक कारणले समस्या हुन सक्ने भएकोले ३ कार्य दिन अगाडि अनलाइन फाराम भर्न कार्यालय प्रमुख अर्यालले जिकिर गरे ।

श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैले वा आफन्तमार्फत् भर्न र घरमा नभई अन्यत्र अनलाईन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।

श्रम स्वीकृति गर्दा म्यादी जीवन वीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय रुँपैया शुल्क लाग्ने कार्यालयले जनाएको छ । जीवन बीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २०८ रुँपैया, ३६ वर्ष देखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ रुँपैया र ५१ वर्ष देखि माथिका लागि १० हजार ९६३ रुपैया मात्र शुल्क लाग्छ ।

अनावश्यक व्यक्तिले सजिलै हुने र हुदै नहुने काम मिलाईदिन्छु भन्दै रकम मागेमा ठाडै इन्कार गर्न र सम्बन्धित नियामक निकाय वा श्रम कल सेन्टर वा वैदेशिक रोजगार विभाग र कार्यालयमा सो को जानकारी गराउन पनि कार्यालय प्रमुख अर्यालले आग्रह गरे ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्वर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नम्वर र इमेल प्रयोग गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु