ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालनको बाटो खुल्यो, यस्तो छ मापदण्ड



काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले छुट्टै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् ।

धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली- २०७५’ पारित गरेसँगै ब्रोकर कम्पनी आफैले टीएमएस सञ्चालन गर्न सक्ने भएका हुन् । गत साता बोर्डको सञ्चालक समितिले विनियमावली पारित गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पठाएको थियो ।

अहिले ब्रोकर कम्पनीहरुले वाइको कम्पनीले बनाएका टीएमएस सञ्चालन गरिरहेका छन् । विनियमावली कार्यान्वयमा आएपछि ब्रोकर कम्पनी आफैले योग्य कम्पनीबाट टीएमएस ल्याउन सक्नेछन् ।

विनियमावलीमा कारोबार व्यवस्थापन प्रणाली र विद्युतीय कारोबार प्रणाली सञ्चालन र मर्मतको काम एउटै कम्पनीले गर्ने नपाउने व्यवस्था छ ।

अहिले वाइकोले नट्सको मर्मत सम्भार तथा टीएमएस सञ्चालन गरिरहेको छ । विनियमावली कार्यान्वयनमा आएपछि वाइकोले टीएमएस बनाउन पाउने छैन । तर यदि वाइकोले पनि टीएमएस सञ्चालन गर्ने हो भने अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध गर्नुपर्ने छ ।

संशोधन गरिएको विनियमावलीमा ‘एउटा स्टक एक्सचेन्जमा आबद्ध भएर १० कारोबार सदस्य वा स्टक ब्रोकरले प्रयोग गरेको प्रणाली मात्रै ब्रोकर कम्पनीले प्रयोग गर्नुपर्ने व्यवस्था’ छ । वाइको कम्पनी नेप्सेको अनलाइन कारोबार प्रणालीका लागि भेण्डर कम्पनी मात्रै हो ।

के छ मापदण्डमा ?
मापदण्डमा टीएमएस विकासकर्ता कम्पनीसँग ५ वर्षको कार्य अनुभव भएको, विगत तीन वर्षयता लगातार वार्षिक औसतमा ७ करोडको कारोबार गरेको कम्पनी हुनुपर्ने छ । साथै, विदेशी कम्पनीले नेपालमा कारोबार व्यवस्था प्रणाली विकास गर्ने हो भने स्थानीय प्रतिनिधि नियुक्त (कुनै संस्था वा कम्पनी) गरेको हुर्नुपर्ने उल्लेख छ ।

त्यस्तो कम्पनीको चुक्ता पुँजी १ करोड भएको र तीन वर्षको कार्य अनुभव भएको पनि हुनुपर्ने छ । विनियमावलीमा सफ्टवयर विकास गर्न सक्ने र मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति हुनुपर्ने पनि उल्लेख छ ।

यो विनियमावली नेप्सेले तोकेको मितिदेखि लागू हुने छ । नेप्सेको सञ्चालक समितिले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।


क्लिकमान्डु