भन्सार निःशुल्क गर्ने हो भने अमेरिकामा गार्मेन्ट निर्यात गर्न सकिन्छः पवन गोल्यान



काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले भन्सार निःशुल्क गरे नेपाली गार्मेन्ट अमेरिका निर्यात गर्न सक्ने बताएका छन् ।

गोल्यानले बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा बोल्दै भन्सार शुल्क निःशुल्क गरेमा अमेरिकामा पर्याप्त मात्रामा गार्मेन्ट निर्यात गर्न सक्ने बताएका हुन् ।

‘सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर नेपालमा उत्पादन भएका गार्मेन्ट अमेरिका निर्यात गर्नसके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुनेछ,’ गोल्यानले भने, ‘पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यात हुने बस्तुमा भन्सार हटाउनु पर्छ ।’

उनले सरकारले नेपालमा उत्पादित वस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन गर्नुपर्ने बताए ।

सरकारले निर्यातजन्य वस्तुमा निर्यात गर्दा अनुदानको व्यवस्था गर्नुपर्ने भन्दै गोल्यानले सरकारी अनुदान विना अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने बताए । उनले निर्यात हाउस समेत स्थापना गर्नुपर्ने बताए ।

‘निर्यातको ठूलो समस्या भनेको हवाई भाडा छ । हवाइ उडानमा सी ग्रेट छ । त्यो हिसावले हामी कहिल्यै पनि कम्प्यारेटिभ हुन सक्दैनौं,’ उनले भने, ‘हवाई भाडामा सहुलियतसहित शुरुमा दुई वटा जहाज किनेर एयर कार्गोको रुपमा चलाएर ५० टन अमेरिका पुर्याउने व्यवस्था भयो भने नेपालको गार्मेन्ट उद्योगको ठूलो विकास हुन्छ ।’


क्लिकमान्डु