१५ घण्टाको लोडसेडिङ ५ घण्टाभन्दा बढी नगर्ने प्रतिबद्धतापछि उद्योगीको आन्दोलन फिर्ता



काठमाडौं । दैनिक १५ घण्टासम्म भइरहेको लोडसेडिङ ५ घण्टाभन्दा बढी गर्न नपाइने विद्युत् प्राधिकरणसँग सहमति भएपछि मोरङका उद्योगीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

मंगलबार भएको सहमतिपछि मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा आन्दोलन फिर्ता लिएको संयुक्त विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको बताए ।

प्रदेश १ को औद्योगिक क्षेत्रमा २ हप्तादेखि निरन्तर १५ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । लोडसेडिङ हुँदा उद्योग सञ्चालन गर्न नसकेपछि व्यवसायीहरू माग आपूर्तिका लागि ध्यानाकर्षण गर्दै आएका थिए ।

उनीहरुले गत वैशाख १६ गते संयुक्तरुपमा पत्रकार सम्मलेन गरी मंगलबारसम्म समाधान गर्नुपर्ने माग गरेका थिए ।

उद्योगीहरु आन्दोलनमा उत्रने घोषणा गरेपछि प्राधिकरणले भारतसँग १५० मेगावाट विद्युत् खरिद गरेर भए पनि समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

‘मंगलबार भएको छलफलमा प्राधिकरणले यस क्षेत्रका उद्योगलाई दैनिक ४ देखि ५ घण्टाभन्दा बढी लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गरेको छ,’ रिजाले भने ।

हाल प्रदेश नम्बर १ का उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्ने हो भने १५ सय मेगावाट विद्युत् आवश्यक पर्ने उनको भनाइ छ । हाल उद्योगले दैनिक ६ सय मेगावाट मात्रै विद्युत् पाइरहेका छन् ।

‘देशको उत्पादन कम भएको र वर्षा शुरु नभएको अवस्थामा उद्योगीहरूले चौविसै घन्टा नै दिनुपर्छ भनेको छैन,’ रिजालले क्लिमाण्डूसँग भने, ‘दैनिक ४ देखि ५ घण्टा लोडसेडिङ भए पनि सहन्छौं भनेका हौं ।’

दुई सातादेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत कटौती भएको भन्दै उनीहरुलाई विद्युत् प्राधिकरणलाई पत्र पठाएका थिए । साथै, उनीहरुले मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।


क्लिकमान्डु