वाणिज्य बैंकले लिए ६४ खर्ब बराबरको एसएलएफ



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै जाँदा बैंकहरुले ६४ खर्ब ११ अर्ब ८ करोड ३३ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले साउनदेखि सोमबारसम्म बैंकहरुले उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ३ हजार ४०८ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राखेर यस्तो सुुविधा लिन पाउँछन् ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि ७ प्रतिशत ब्याजदरमा उक्त रकम लिएका हुन्छन् ।

राष्ट्र बैंकका अनुसार सोमबार मात्रै ३२ वटा कारोबारबाट ५७ अर्ब ८९ करोड रुपैयाँ बैंकहरुले लिएका छन् ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्था एसएलएफ सेवा लिन केन्द्रीय बैंकमा जाँदैनन् ।

ब्याजदर महंगो पर्ने भएका कारण पनि बैंकहरुले यस्तो सेवा कम लिन खोज्छन् । तर जब तरलता अभाव चुलिँदै जान्छ तब मात्रै बैंकहरु चर्को ब्याज तिरेरै भएपनि एसएलएफ सुविधा लिन्छन ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

अहिले तरलता अभाव हुनुको प्रमुख कारण निक्षेपभन्दा बढी कर्जा बिस्तार हुनुलाई लिइएको छ । कोरोना महामारी न्यून भएपछि चालु आवको सुुरुबाट नै बैंकहरुले आक्रमक रुपमा कर्जा प्रवाह गरेका थिए ।

अहिले बैंकमा निक्षेप समेत घट्दै जाँदा कर्जा प्रवाह निकै न्यून बन्दै गएको छ । बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताको लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् ।

अहिले बैंकको अन्तर बैंक ब्याजदर अहिले बैंकहरुको अन्तर बैंक ब्याजदर नै ७.०४ प्रतिशत पुगिसकेको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख १३ गतेसम्म अन्तर बैंक ब्याजदर ७.०४ प्रतिशत पुगेको छ । अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि बैंकहरुले एसएलएफ सुविधा लिएका हुन् ।


क्लिकमान्डु