चाउचाउ र पास्ताको निर्यात बढ्यो, मुख्य बजार भारत र अमेरिका



काठमाडौं । आयातको तुलनामा निर्यातको हिस्सा निकै कमजोर देखिए पनि पछिल्लो समय आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात बढाउन लागिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १ अर्ब ६० करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । उक्त निर्यातित वस्तुमा तेलको मात्रै ५० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । जसमा नेपाली उत्पादित वस्तुको निर्यातको अवस्था निकै कमजोर रहेको छ ।

त्यसैगरी, निर्यातित वस्तुमध्ये सबैभन्दा उच्च रुपमा निर्यात हुँदै आएको वस्तु हुन् चाउचाउ र पास्ता ।

व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको चाउचाउ र पास्ताको निर्यात चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९.५७ प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको ९ महिनाको अवधिको तुलनामा गत वर्षको सोही अवधिमा ९.५७ प्रतिशतले बढेको हो ।

गत वर्षको ९ महिनाको अवधिमा नेपालले १ अर्ब २६ करोड ६० लाख रुपैयाँ बराबरको चाउचाउ तथा पास्ता निर्यात गरेको थियो । त्यस्तै, चालु आवको सोही अवधिमा नेपालले १ अर्ब ३८ करोड ७१ लाख रुपैयाँको ७५ लाख ८७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, गत आर्थिक वर्षमा नेपालले १ अर्ब ७९ करोड १० लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको थियो ।

मुख्य बजार भारत र अमेरिका
नेपालबाट निर्यात हुने पास्ताको मुख्य बजार भारत र अमेरिका रहेको छ । नेपालबाट ९ महिनाको अवधिमा करिब डेढ अर्बको निर्यात हुँदा भारत र अमेरिकामा मात्रै १ अर्ब १३ करोड ५५ लाख रुपैयाँको निर्यात गरेको छ ।

नेपालले सो अवधिमा भारतमा १ अर्ब १ करोड २४ लाख रुपैयाँ बराबरको ६४ लाख ५८ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको भन्सार विभागको तथ्याङ्ले उल्लेख गर्दछ ।

त्यस्तै, अमेरिकामा १२ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ७६ हजार केजी चाउचाउ र पास्ता निर्यात गरेको छ ।

त्यस्तै, अष्ट्रेलियामा १० करोड ३८ लाख रुपैयाँको ३ लाख ३१ हजार केजी, इटलीमा ३ करोड १७ लाख रुपैयाँ, क्यानाडामा २ करोड ९६ लाख रुपैयाँको, जापानमा २ करोड ३६ लाख रुपैयाँ, बेलायतमा १ करोड ४१ लाख रुपैयाँ, मलेसियामा २ करोड ७६ लाख रुपैयाँ, उत्तर कोरियामा २५ लाख रुपैयाँ, सिंगापुरमा २४ लाख, बतारमा १४ लाख, हङकङमा ४१ लाख, चीनमा २७ लाख, डेनमार्कमा ३६ लाख, बेल्जियममा २८ लाख र भुटानमा ११ लाख रुपैयाँको निर्यात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

३० करोडको आयात
नेपालले निर्यातसँगै आयात पनि गरेको छ । नेपालले ९ महिनाको अवधिमा ३० करोड रुपैयाँका १९ लाख ७१ हजार केजी चाउचाउ र पास्ता आयात गरेको छ । उक्त आयातित वस्तुबाट नेपालले २१ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

नेपालले आयात गरेकोमा सबैभन्दा बढी दक्षिण कोरियाबाट आयात गरेको छ । नेपालले दक्षिण कोरियाबाट मात्रै ९ करोड ५१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार केजी आयात गरेको छ ।

त्यसैगरी, भारतबाट ८ करोड ७४ लाख रुपैयाँ, इटलीबाट ४ करोड ३६ लाख रुपैयाँ, टर्कीबाट ३ करोड रुपैयाँ, बंगलादेशबाट २ करोड ८५ लाख रुपैयाँ र अन्य विभिन्न देशबाट आयात भएको तथ्याङ्कले उल्लेख गर्दछ ।


क्लिकमान्डु