सिंहदरबारभित्रै कुलमानले ऊर्जामन्त्रीलाई ढाँटे



काठमाडौं । विजुलीको बिक्री वितरण गर्ने जिम्मा पाएको एकमात्र निकाय नेपाल विद्युत् प्राधिकरणले कुनै लोडसेडिङको तालिका निकालेको छैन । प्राधिकरणका प्रमुख कुलमान घिसिङ आफूले बिजुली दिइरहेको दावी गर्छन् ।

तर, बिडम्बना ठूला उद्योगहरुले दैनिक १२ देखि १४ घन्टासम्म लोडसेडिङको मार खेपिरहेका छन् ।

बिजुली पाइँन भनेर कुलमानसँग गुनासो गर्दा गर्दै थाकेका उद्योगीले पछिल्ला केही सातायता एकै स्वरमा सरकारसँग गुनासो गरिरहेका छन् । प्राधिकरणका प्रमुख कुलमानले बिजुली दिन नसकेपछि निजी क्षेत्रका विभिन्न छाता संगठनहरुले कडा विज्ञप्ति निकालेर सरकारको कानसम्म आफ्ना कुरा पुर्याएका छन् ।

बिजुलीको समस्या सरकारको कानसम्म पुग्यो भन्ने कुरा सोमबारको एउटा घटनाले पुष्टि गर्छ । सोमबार ऊर्जामन्त्री पम्फा भुसालले ठूला उद्योगहरुमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे प्राधिकरणका प्रमुख कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई सँगै राखेर छलफल गरिन् ।

मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन् ।

‘विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो,’ उनले भनिन् ‘नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।’

कुलमानले ढाँट्दा पनि मन्त्री र सचिवले क्रस चेक गरेनन् । उनीहरुले कुलमानले भनेको कुरा पत्याइदिए । गुनासो सुनाउन गएका उद्योगीहरु आफ्ना कुरा राख्न पाएकोमा सन्तुष्ट हुँदै फर्किनुको विकल्प थिएन । किनभने, सिंहदरबारभित्र कुलमान बत्ति दिएको दावी गरिरहेका थिए, उता उद्योगमा बत्ति काटिइरहेको थियो ।

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन् ।

‘ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो’ उनले भनिन् ‘आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।’

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै आत्तिनुपर्ने अवस्था नहरेको बताए ।

‘यो समस्या क्षणिक हो’ उनले भने ‘राज्यले यसलाई सम्बोधन गर्छ ।’

ऊर्जा मन्त्रालयमा सोमबार साँझ भएको छलफल

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएएका थिए ।

महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईले उद्योगले चरम लोडसेडिङ भोगिरहेको बताए ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने उद्योगीले भनेजस्तो लोडसेडिङ नभएको दावी गरे ।

‘उद्योगी व्यवसायी मित्रहरुले भनेजस्तो ठूलो समस्या छैन, प्राधिकरणले बिजुली दिइरहेकै छ,’ घिसिङले भने, ‘कुन कुन उद्योगमा कुन कुन समयमा बिजुली दिइएको छैन भनेर साथीहरुले भन्न सक्नुपर्छ ।’

कुलमानले यसो भनेपछि महासंघका उपाध्यक्ष संघाइले आफ्नो उद्योगमा बिजुली काटिएको छ भनेर सुनाए ।

तर, संघाइको कुरा कुलमानले सीधै स्वीकार गरेनन् । घुमाउरो तरिकालेचाहीँ स्वीकारे ।

‘तपाईंको ट्रान्सफर्मर बिग्रिएर बिजुली नआएको हो,’ संघइको जिज्ञासामा घिसिङले जवाफ दिए, ‘केही दिन यता त प्राधिकरणले नियमित बिजुली दिइरहेको छ ।’

कुलमानले यसरी दिनदहाडै ढाँटेर मन्त्री, सचिव र आम जनताको आँखामा छारो हाल्नुभन्दा बिजुली दिन नसकिएकै हो भनेर स्वीकार गरेका भए उनीप्रतिको विश्वास र भरोसा टुट्टे थिएन । कुलमानले ढाँटेर आफ्नै विश्वासनीयतामाथि प्रहार गरिरहेका छन् ।

कुलमानले ऊर्जामन्त्री भुसालका अघि यसो भनेर ढाँटिरहँदा देशभरका विभिन्न उद्योगमा भने बिजुली काटिएको थियो ।

कुलमानले सोमबार साँझ सवा ४ देखि साढे ५ बजे सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको छलफलमा बिजुली नकाटिएको दावी गरिरहेका थिए ।

तर, उद्योगमा बिजुलीको समस्या कस्तो छ भनेर क्लिकमाण्डूकर्मी सोमबार नै विभिन्न उद्योगमै बसेर अबलोकन गरिरहेका थिए । मन्त्रालयभित्र त्यो पनि उद्योगी र मन्त्रीकै अगाडी कुलमानले बत्ति काटिएको छैन भनेर झुटो बोलिरहँदा बुटवल भैरहवाका केही उद्योगको अवस्था अवलोकन गर्न पुगेका क्लिकमाण्डूकर्मीले भने बिजुली काटिएको प्रत्यक्ष हेरिरहेका थिए । यसबारे क्लिकमाण्डूले स्थलगत विशेष रिपोर्ट तयार पारिरहेका छ ।

कुलमानले ढाँट्दा पनि मन्त्री र सचिवले क्रस चेक गरेनन् । उनीहरुले कुलमानले भनेको कुरा पत्याइदिए । गुनासो सुनाउन गएका उद्योगीहरु आफ्ना कुरा राख्न पाएकोमा सन्तुष्ट हुँदै फर्किनुको विकल्प थिएन । किनभने, सिंहदरबारभित्र कुलमान बत्ति दिएको दावी गरिरहेका थिए, उता उद्योगमा बत्ति काटिइरहेको थियो ।

‘कुलमानले केही दिनयता उद्योगमा बिजुली नकाटिएको दावी गरिरहेक छन्, मिडयामा पनि कुलमानकै दावीका समाचार आउँछन्,’ छलफलमा सहभागी एक उद्योगीले भने, ‘मेरो उद्योगमा दैनिक १० देखि १४ घन्टासम्म बिजुली काटिएको छ । यो कुरा क कसलाई सुनाउँदै हिँडौं । हामीले सुनाउँदा पनि कसले पत्याइदिने ?’

कुलमानले यसरी दिनदहाडै ढाँटेर मन्त्री, सचिव र आम जनताको आँखामा छारो हाल्नुभन्दा बिजुली दिन नसकिएकै हो भनेर स्वीकार गरेका भए उनीप्रतिको विश्वास र भरोसा टुट्टे थिएन । कुलमानले ढाँटेर आफ्नै विश्वासनीयतामाथि प्रहार गरिरहेका छन् ।


क्लिकमान्डु