उद्योगमा थप लोडसेडिङ हुने



काठमाडौं । फागुनदेखि नियमित विद्युत आपुर्तिको समस्या भोगिरहेका ठूला उद्योग थप समस्यामा पर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले तत्काल ठूला उद्योगमा नियमित विजुली दिन नसक्ने जनाएको छ । शनिबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाले विज्ञप्ती जारी गर्दै ठूला उद्योगमा नियमित विजुली दिन आग्रह गरेका थिए ।

‘नियमित विजुली उपलब्ध नभए उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन्,’ विज्ञप्तीमा भनिएको छ ,‘उद्योगीले ठूलो घाटा बेहोरिरहेका छन् । सरकारले नियमित विजुली प्रदान नगरे उद्योग नै बन्द हुनेछन् ।’

यता नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने भारतबाट बिजुली आयात हुन नसके ठूला उद्योगमा विजुली नै दिन नसकिने बताए । ‘अहिलेसम्म भारतबाट विजली आइरहेकाले हामीले ठूला उद्योगमा केही समय विजुली दिएका छौँ’ भट्टराई भने, ‘भारतका १४ भन्दा बढी राज्यमा लोडसेडिङ सुरु भएको छ । महँगो मूल्यमा विजुली खरिद गर्छाैँ भन्दा समेत पाउन सकेका छैनौँ ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएपछि भारतमा विजुली उत्पादन घटेको छ । पछिल्लो समय भारतमा विजुली माग उच्च दरमा बढेको छ । भारतको पावर मन्त्रालयका अनुसार गत शुक्रबार विजुलीको माग अहिलेसम्मको धेरै २ लाख ७ हजार मेगावाट पुगेको थियो । त्यसैले भारतबाट प्राधिकरणले तत्काल विजुली ल्याउन सक्ने सम्भावना छैन् ।

‘भारत सरकारका दुई निकायसँग भएको सम्झौता अनुसार हामीले विजुली पाएका छैनौँ । बिहार सरकारले पनि विजुली दिन नसक्ने जनाएको छ,’ भट्टराई भने ‘ भारतको इण्डियन इनर्जी एक्सचेञ्जमा समेत १२ रुपैयाँ भारुमा विजुली खरिद गर्न बिड गर्दा पनि पाउन सकेनौ । त्यसैले उद्योगमा लोडसेडिङ गर्नुको विकल्प छैन ।’

नेपालले भारतको एनटिपिसी विद्युत व्यापार निगमबाट ३५० मेगावाट र पावर टेड्रिङ कम्पनी (पिटिसी) बाट ६५ मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो । यस्तै बिहार सरकारबाट समेत १०० मेगावाट विजुली आउने गरेको थियो । त्यो बाहेक इण्डियन इनर्जी एक्सचेञ्जबाट समेत नेपाल विद्युत प्राधिकरणले विजुली खरिद गर्ने गरेको थियो ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार शनिबार प्राधिकरणले एक्सचेञ्जमा ४०० मेगावाट विजुली खरिदका लागि ९६ बल्कमा विडिङ गरेकोमा एउटा बल्कमा पनि विजुली नपाएको जानकारी दिए ।

‘तत्काल हाम्रो आन्तरिक उत्पादन बढ्ने सम्भावना छैन,’ भट्टराई भने, ‘अहिले ठूला उद्योगमा विजुली दिने हो भने साना उद्योग र घरायसी ग्राहकलाई दिन सकिदैन् । भारतमा समेत उद्योग पूर्ण क्षमतामा चलेका छैनन् । त्यसैले केही समय हामी उद्योगमा विजुली दिन सक्ने अवस्थमा छैनौँ ।’


क्लिकमान्डु