सवारी चालक अनुमतिपत्रः ‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’



काठमाडौं । तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो, अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ ।

तर दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला । बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दै छ ।

यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।

सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका निमित्त प्रमुख सञ्जय थापाले भने, ‘नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।’

लाइसेन्स वितरण, नविकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रवन्ध तथा राजस्व सङ्कलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ ।

‘हामी तीनवर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौँ । यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छौं। विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो,’ उनले भने ।

अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका बताइएको छ ।

करिब तीन वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत उहाँले विसं २०७७ पुस ५ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।

‘मैले तीन वर्षे कार्ययोजना बनाइ मेरो तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरेको गरेँ । ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्ययोजना कार्यान्वयन भइराखेको छ । यसले नतिजा दिन थालेको छ,’ उनले भने ।

आइतबार मात्र बागमती प्रदेश मुख्यमन्त्री रोजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए ।


क्लिकमान्डु