‘निर्माण होलिडे’को मारमा परे साढे ३ हजार आयोजना



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले ‘निर्माण होलिडे’ सुरु गर्दा करिब ३ हजार ५ सय आयोजना प्रभावित भएका छन् ।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको र काम गर्न नसक्ने भएको भन्दै व्यवसायीले ‘निर्माण होलिडे’ सुरु गरेका छन् । जसको असर ३ हजार ५ सय आयोजनामा परेको छ ।

पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण समस्यामा परेको महासङ्घको दाबी छ । निर्माण सामग्रीको विरोधमा आइतबारदेखि करिब तीन हजार ५ सय आयोजनाका काम रोकिएको छ ।

निर्माण व्यवसाय धराशायी भएका कारण ‘निर्माण होलिडे’ गर्नुपरेको महासङ्घका अध्यक्ष रवि सिंहले बताए । निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । महत्वपूर्ण आयोजनाका रुपमा रहेका करिब एक हजार ५०० को काम भने हाल जारी रहेको छ । ‘निर्माण होलिडे’ आजदेखि सुरु गरिए पनि यही वैशाख १३ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालय र सातवटै प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिइनेछ । आइतबार र सोमबार स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको गर्ने भएकाले धर्नाका कार्यक्रम स्थगन गरिएको छ । स्थानीय तहको निर्वाचनको समय भएकाले १३ गतेदेखि आन्दोलन नै गर्नु नपर्ने गरी माग पूरा गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।
महासंघले बिहीबार र शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक÷एक घण्टा शान्तिपूर्णरुपमा धर्ना दिइएको थियो । मूल्यवृद्धि समायोजन गर्न, सार्वजनिक खरिद नियमावली २०७८ को ११ औँ संशोधनमा रहेका अमिल्दा बुँदा परिमार्जन गर्नुपर्ने र बीमा निर्देशिका २०७८ खारेज हुनुपर्ने माग गरिएको महासचिव रोशन दाहालले बताए । बीमा निर्देशिका खारेजीको मागमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इप्पान० ले पनि ऐक्यबद्धता जनाई सहभागी भएको जनाइएको छ ।


क्लिकमान्डु