उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट, तपाईलाई कति पर्यो ?



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरेको हो ।

आइपीओमा आवेदन दिनेमध्ये २२ हजार ११५ जनाले आइपीओ पाएका छन् । जसमा २२ हजार १०९ जनाले १० कित्ता र बाँकी ६ जनाले थप १-१ कित्ताका दरले ११ कित्ता सेयर पाएका छन् ।

२३ लाख ५१ हजार ४६२ जनाले दिएको आवेदनमा २ हजार ४०६ जनाको आवेदन रद्द भएर २३ लाख ४९ हजार ५६ जना योग्य आवेदन ठहरिएका थिए । उनीहरुलाई गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले चैत २५ देखि ३० गतेसम्म २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार ८१ कित्ता सेयर कर्मचारीलाई छुट्याएर २ लाख २१ हजार १५६ कित्ताका सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । आइपीओमा नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट, उपकार लघुवित्तको वेबसाइट, मेरो सेयर र सिडीएससीको आइपीओ नतिजा हेर्ने वेवसाइटबाट पनि थाहा पाउन सकिन्छ ।


क्लिकमान्डु