नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी, सेवा प्रवाह अनलाइनबाटै



काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी गरेको छ ।

विभागले सेवा प्रवाहलाई दीर्घकालीन रुपमा सहज र व्यवस्थित बनाउनका लागि नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी गरेको हो ।

अहिलको व्यवस्थाअनुसार जुनसुकै नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जाँदा श्रम कार्यालयबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई हटाएर गन्तव्य मुलुकमै श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

नेपालको श्रम स्वीकृति लिनुपर्ने व्यवस्था निकै खर्चिलो र झन्झटिलो भएकाले श्रम स्वीकृतिको व्यवस्था हटाउनेबारे छलफल भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उनकाअनुसार विभागले दीर्घकालिन सहज र व्यवस्थित बनाउनका लागि श्रम स्वीकृति लिनुपर्ने हटाउनेबारे बहस शुरु गरेको हो ।

‘अहिलेको व्यवस्थाअनुसार श्रमिकका लागि धेरै झन्झटिलो कार्य रहेको छ,’ उनले भने, ‘आगामी दिनमा उक्त व्यवस्थालाई हटाउन सके सहज र व्यवस्थित हुनेछ ।’

विभिन्न मुलुकमा आफ्नो नागरिकलाई अन्य देशमा रोजगारीमा जाँदा श्रम स्वीकृति दिने व्यवस्था छैन । उक्त मुलुकबाट रोजगारीका सिलसिलामा जाँदा भिसा मात्रै भए पुग्छ । जसमा सो कामदारले गन्तव्य मुलुकबाटै श्रम स्वीकृति जारी हुन्छ । त्यसैले, नेपालले पनि सो व्यवस्था अपनाउन सक्ने उनले जिकिर गरे ।

‘नेपालमा पनि कुनै विदेशी नागरिक रोजगारीका लागि आएको छ भने उक्त विदेशी नागरिकलाई नेपालबाट श्रम स्वीकृति दिनुपर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘आगामी दिनमा नेपालीले पनि गन्तव्य मुलुकमै दिन सक्ने व्यवस्था गन सक्छौं ।’

पौडेलका अनुसार गन्तव्य मुलुकबाट आएको मागपत्र र जारी गरिएको कामदार भिसा नै श्रम स्वीकृतिको रुपमा लिन सक्ने उल्लेख गरे ।

नेपालबाट श्रम स्वीकृति नदिई भिसा, अभिमुखीकरण, सामाजिक सुरक्षाको र स्वास्थलगायतको अभिलेख राख्न सक्ने उनले बताए । साथै, सोही अभिलेखबाट सहजै रोजगारीमा जान सक्नेछ ।

श्रम स्वीकृति लिएको छ वा छैनन् भन्ने विषय गन्तव्य मुलुकको आवश्यकता नरहेको उनको भनाइ छ । त्यसैले, सरकारले वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लिने व्यवस्थालाई हटाउने सके लागत, समय र खर्च कम हुने उनको दाबी छ । साथै, बिना झन्झट नेपाली श्रमिक रोजगारीमा जान सक्नेछन् ।

श्रम स्वीकृतिको झन्झट हटाउनका लागि सरकारले नीति नियममा संशोधन गर्नुपर्ने देखिएको उनले उल्लेख गरे ।

वैद्यानिकिकरणलाई व्यक्तिगत श्रम स्वीकृतिमा परिणत गर्ने
विभागले श्रम स्वीकृतिसँगै वैधानिकीकरणको पनि व्यवस्था हटाउने गर्ने तयारी गरेको छ । कुनै गन्तव्य मुलुकबाट अन्य भिसामा गई काम गरेर नेपाल फर्किएको अवस्थामा सो श्रमिक पुनः विदेश जानका लागि वैधानिकीकरण गर्नुपर्छ । उक्त व्यवस्थालाई हटाउने तयारी गरेको विभागले जनाएको छ ।

‘गन्तव्य मुलुकको देशले वैधानिक भनेर पठाएको छ । फेरि हाम्रो देशले वैधानिकीरकणमा श्रम स्वीकृति दिँदै आएको छ,’ उनले भने ।

वैधानिकीकरणको व्यवस्थालाई विभागले व्यक्तिगत श्रम स्वीकृतिमा परिणत गर्ने तयारी गरेको उनले जानकारी दिए । साथै, उक्त व्यक्तिगत श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सक्ने व्यवस्था गरे सहज हुने उनको भनाइ छ ।

श्रम स्वीकृति अब अनलाइनबाट मात्रै
सरकारले अहिले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि अनलाइन प्रणालीबाट मात्रै कार्य हुने व्यवस्था गरेको छ ।

विभागले गत वैशाख २ गतेबाट वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ । यो व्यवस्थासँगै म्यानपावर व्यवसायी वा उनिहरूका प्रतिनिधिको भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको काम हुनेछ ।

गत माघ देखि पुनः श्रम स्वीकृतिको काम अनलाईनबाट मात्र गर्दा कार्यालयमा हुने दैनिक १ हजार बढीको भिडभाड हटेको छ ।

कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति अनलाइनबाट लिने व्यवस्था भएपनि व्यक्तिगत श्रम स्वीकृतिका लागि भने अनलाइन प्रणाली लागू भएको छैन ।

त्यसैले आगामी दिनमा व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइनमार्फत् श्रम स्वीकृति दिने तयारी गरेको छ ।


क्लिकमान्डु