अक्सिजन प्लान्टमा विष्फोटः तत्काल छानविन गर्न गृहमन्त्री खाणको निर्देशन



काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोट भएको छ । उक्त प्लान्टमा विष्फोट भएलगत्तै गृहमन्त्री बालकृष्ण खाणले उक्त विष्फोटको तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विष्फोटमा भारत घर भई त्यहाँ कार्यरत बृजमोहन महतोको मृत्यु भएको छ । विष्फोटमा छ जना घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको जानकारी गराएको छ ।


क्लिकमान्डु