सरकारले माग सम्बोधन नगरेपछि निर्माण व्यवसायी आन्दोलित



काठमाडौं । सरकारले निर्माण व्यवसायीको माग सम्बोधन नगरेपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरूले निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन गरिएकाे खरिद नियमावलीमा भएको त्रुटी सच्याउन माग गर्दै आएका थिए । उनीहरुको माग सरकारले नसुनेपछि निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले पहिलो चरणमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूले बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा शान्तिपूर्ण धर्ना दिएका हुन् । महासंघले यसअघि देखि नै मूल्यवृद्धि र नियमावली संशोधन गर्न माग गर्दै आएको छ । सरकारले व्यवसायीको मागलाई बेवास्था गरेको भन्दै व्यवसायीहरूले धर्ना दिएकाे महासंघका महासचिव राेशन दाहालले बताए ।

महासंघले हाल अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यलाई समायोजन गर्न माग गर्दै आएको छ । साथै, सार्वजनिक खरिद नियमवलीको एघारौं संशोधनमा भएको त्रुटीलाई सच्याउन माग गरेको छ । महासंघको टोलीले आज नै बीमा समितिमा पनि धर्ना दिने भएको छ । महासंघले बीमा सम्बन्धी जारी गरिएको निर्देशिका-२०७८ लगायतका प्रवाधानमा संशोधन तथा खारेज गर्न माग गरेकाे छ ।


क्लिकमान्डु