घरजग्गा किनबेचको केन्द्र बन्यो उपत्यका, वर्ष दिन हुने कारोबार ९ महिनामै भयो



काठमाडौं । कोरोना महामारीका कारणले आर्थिक मन्दी खेपिरहेको अवस्थामा घरजग्गा कारोबारमा उछाल आएको छ ।
कोरोना महामारीको समयमा न्यून असर परेको घरजग्गा कारोबारमा तरलता अभावले पनि असर पार्न सकेन ।

अहिले पनि देशभर मासिक ७० हजारभन्दा बढी घरजग्गा किनबेच भइरहेको छ । सामान्य अवस्थामा पनि सोही संख्या बराबर किनबेच हुँदै आएकोमा कोरोना महामारी र तरलता अभाव हुँदा पनि कारोबार भने घटेको छैन ।

अझ पछिल्लो समय त घरजग्गाको कारोबारका लागि काठमाडौं उपत्यका केन्द्र नै बनेको छ । अन्य सहरको तुलनामा बढी पूर्वाधारको सुविधा भएको उपत्यकामा बसाइँ सरी आउनेहरुको संख्या बढ्दै जाँदा घरजग्गा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको हो ।

अहिले उपत्यकाका तीनवटै जिल्लामा उच्च रुपमा घरजग्गा किनबेच भएको तथ्याङ्कले देखाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा घरजग्गा किनबेच बढ्दो रहेकाले उपत्यकाको घरजग्गा किनबेचको हटस्पट बन्दै गएको छ ।

उपत्यकाका तीन जिल्लामा विगतमा एक वर्षमा हुने कारोबार संख्या यस वर्ष ९ महिनामै पूरा भएको छ । विगतका वर्षमा औसत ८० हजारको हाराहारीमा घरजग्गा कारोबार हुने गरेकोमा चालु आवको ९ महिनामै करिब ८० हजार घरजग्गा कारोबार भइसकेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा उपत्यकामा ७५ हजार १४७ किनबेच भएको थियो । त्यस्तै, आव २०७६/७७ मा ८० हजार ६४८ र आव २०७७/७८ मा ७८ हजार ५५४ घरजग्गा किनबेच भएको थियो ।

तर, चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा उपत्यकामा मात्रै ७९ हजार ५४० घरजग्गा किनबेच भएको छ । जुन उक्त अवधिमा हालसम्मकै उच्च हो । साथै, एक आर्थिक वर्षमा किनबेच हुने संख्याभन्दा पनि बढी ९ महिनाको अवधिमै किनबेच भएको देखिन्छ ।

९ महिनाको अवधिमै उपत्यकामा करिब ८० हजारको हाराहारीमा घरजग्गा किनबेच भएको अवस्थामा यहीअनुसार कारोबार भए यो वर्ष १ लाख बढी हुने विभागको भनाइ छ ।

लगनखेल र भक्तपुरमा बढ्दो आकर्षण
उपत्यकाको तीन जिल्लामध्ये पछिल्लो समय ललितपुर र भक्तपुरमा घरजग्गा किनबेचको बढ्दो आकर्षण रहेको छ ।

ठमाडौंमा जग्गाको भाउ छोइनसक्नु र जग्गा पर्याप्त नहुँदा ललितपुर भक्तपुरतर्फ मानिसको आकर्षण बढेको हो ।

अहिले ललितपुर र भक्तपुरमा मात्रै मासिक २ हजारभन्दा बढी घरजग्गा किनबेच हुने गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । विभागको अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ललितपुरबाट मात्रै १८ हजार ७४५ घरजग्गा किनबेच भएको छ । ललितपुर मालपोत कार्यालयबाट १८ हजार ४४६ र गोटीखेल लगनखेलबाट ४४६ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, भक्तपुरमा मात्रै ९ महिनाको अवधिमा १८ हजार ५९१ घरजग्गा किनबेच भएको छ । त्यसपश्चात काठमाडौंमा रहेको मालपोत कलंकीबाट १५ हजार ५४८, साँखुबाट ९ हजार ६३६, चावहिलबाट ७ हजार ६९९, डिल्लीबजारबाट ३ हजार २५७, मनमैजुबाट ३ हजार १८१ र टोखाबाट २ हजार ८८३ घरजग्गा किनबेच भएको छ ।

पौने २६ अर्ब राजस्व संकलन
उपत्यकामा ९ महिनाको अवधिमा ८० हजारको हाराहारीको घरजग्गा किनबेच हुँदा करिब २६ अर्ब राजस्व संकलन गरेको छ ।

९ महिनाको अवधिमा उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट २५ अर्ब ७५ करोड ६३ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त संकलन भएको राजस्वमध्ये २ अर्ब ६१ करोड ५७ लाख ४८ हजार रुपैयाँ विभिन्न विधामा छुट दिएको विभागले जनाएको छ । महिला, एकल महिलालगायत बालबालिकाको नाममा जग्गा पास गर्दा छुट दिने व्यवस्था रहेको छ । त्यसैले ९ महिनाको अवधिमा साढे २ अर्ब छुट दिएको विभागको भनाइ छ ।

उपत्यकको ९ वटा मालपोत कार्यालयबाट साउनमा ३ अर्ब २८ करोड ८१ लाख रुपैयाँ, भदौमा ३ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ, असोजमा ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ३५ करोड ५२ लाख, मंसिरमा ३ अर्ब ७ करोड ९४ लाख रुपैयाँ र पुस २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, माघमा २ अर्ब ३६ करोड २९ लाख रुपैयाँ, फागुनमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ र चैतमा २ अर्ब ३२ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु