करिब ६७ करोड रूपैयाँ क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ



काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

राष्ट्र बैंकले बैंक तथा बित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश बिपरीत उपत्यकामा केही व्यक्तिहरु क्रिप्टोकरेन्सीको बित्तीय कारोवारमा सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायतका विभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय रहेका उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु