गठबन्धन टुटाउने खेल भइरहेको छः देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राम्रो नेता बन्न पढाइ र चुनाव दुबैमा अब्बल हुनुपर्ने बताएका छन् ।

मंगलबार नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले भने, ‘अब राम्रो नेता बन्न पढाइ र चुनाव दुबैमा अब्बल हुनुपर्छ, त्यसका लागि तयार हुनुहोस् ।’

उनले गठबन्धनका कारणले कैयन प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै गठबन्धन अहिलेका लागि राम्रो भएको बताए ।

‘कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने केही भन्नु छैन, होइन भने अहिले गठबन्धन अहिले कांग्रेसका लागि राम्रो छ,’ उनले भने ।

अहिले कुनै एक्लो पार्टीको बहुमत आउने अवस्था नरहेकाले गठबन्धन आवश्यकता भएको बताए ।

‘गठबन्धन गिभ एण्ड टेकका लागि हो,’ उनले भने, ‘अहिले गठबन्धन टुटाउने खेल भइरहेको छ ।’

उनले आफू अब सभापति बन्न नपाउने भन्दै नेविसंघका नेताहरुलाई त्यसका लागि तयार हुन आग्रह समेत गरे । उनले पार्टी बलियो बनाउनका लागि गाउँगाउँका स्कुल र कलेजमा कमिटी बनाउन आग्रह गरे ।

‘हाम्रो संगठन निकै कमजोर छ, अन्य पार्टीले गाउँ–गाउँमा कमिटी बनाएका छन्, यो गाउँको देश हो त्यसैले गाउँमै कमिटी बनाउन केन्द्रित बनाउनु पर्छ,’ उनले भने ।

उनले अब नेविसंघमा भएका नेताहरुमा देशको जिम्मेवारी आउने भन्दै त्यसका लागि तयार हुनुपर्ने बताए ।


क्लिकमान्डु